कुष्ठरोगका कारण १२ वर्षदेखि ओडारकै बास

काठमाण्डौ, १५ असार । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ८ खोल्सी गाउँ माइती घर भएकी ७० वर्षीया गोला शाही कुष्ठरोग लागेकै कारण १२ वर्षदेखि ओडारमा बस्न बाध्य छिन् ।

बझाङ जिल्लाको पिमीनौरा गाउँमा विवाह गरेकी शाही श्रीमानको मृत्युपछि माइतीको साहरा खोज्दै माइत आएकी थिइन् । तर, रोग लागेका कारण माइतीले सहयोगको साटो घृणा गर्यो । ‘परिवारका अन्य सदस्यले रोग सर्ने भन्दै माइतीले गाउँलेको साहरामा घरबाट निकालिदिए,’ आँखाभरि आँसु पार्दै उनले दुखेसो गरिन् ।

माइतीमा छँदा कुनै रोग नभए पनि श्रीमान्बाट आफूलाई कुष्ठरोग सरेको उनले बताइन् । २०४८ सालदेखि कुष्ठरोगले च्यापेपछि उपचारका लागि सबै ठाउँमा चहारेकी शाही सन्चो नभएपछि अहिले खंगालगाउँको लामा खोल्सीको जंगलमा रहेको ओडारमै बस्दै आएकी छन् । उनी १२ वर्षदेखि यो ओडारमा एक्लै बस्दै आइरहेकी छन् । याे खबर राजधानी दैनिकमा छ ।