दुई वर्षमा पुनर्निर्माण प्राधिकरणले खर्च गर्यो रु ३४ अर्ब ५२ करोड

काठमाण्डौ, ११ वैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प गएको दुई वर्षको अवधिमा रु. ३४ अर्ब ५२ करोड रुपैयाँ खर्च भएको जनाएको छ ।

यो अवधिमा भत्किएका मध्ये ४० प्रतिशत घर पुनर्निर्माण भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले जानकारी दिए । प्राधिकरणमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले स्वास्थ्य संस्था पुनर्निर्माणमा भने ढिलो नै भएको बताएका छन् ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षमा ३० अर्ब ५२ करोड रुपैयाँ र अघिल्लो आर्थिक वर्षमा चार अर्ब रुपैयाँ खर्च भएको छ । तर, तथ्यांकमा भने भूकम्पबाट अति प्रभावित १४ जिल्लामा ६ लाख २६ हजार ६ सय ९५ लाभग्राही मध्ये ४९ हजार ६ सय ८१ घरको पुनर्निर्माण सुरु भएको उल्लेख छ । लाभग्राही आफैंले १८ हजार ६ सय ३३ वटा घर पुनर्निर्माण गरेका छन् । पूर्ण रुपमा क्षति भएका चार सय ४० स्वास्थ्य संस्था मध्ये दुई सयवटा मात्रै पुनर्निर्माण भएका छन् ।

भूकम्पबाट प्रभावित बाँकी १७ जिल्लामा ९० हजार पाँच सय ५६ लाभग्राही पहिचान भएका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले तीव्र गतिमा घर पुनर्निर्माण भइरहेको भन्दै यसका लागि कुनै अभाव हुन नदिने पनि बताए ।

पत्रकार सम्मेलनमा प्राधिकरणका सहप्रवक्ता भीष्म भुसालले निजी आवास, शिक्षण संस्था, पुरातात्विक महत्वका सम्पदा, सरकारी भवन र स्वास्थ्य संस्था निर्माण गर्न तीन खर्ब रुपैयाँ आठ अर्ब रुपैयाँ रकम अभाव रहेको जानकारी दिए ।