सत्तापक्षले लाेकतन्त्रलाई सत्तामा पुग्ने विजनेशका रुपमा प्रयाेग गर्नु गलतः अध्यक्ष अाेली

काठमाण्डौ, १४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीका अभ्यासलाई सत्तामा पुग्ने विजनेशका रुपमा मात्र नबुझ्न सत्तापक्षलाई आग्रह गरेका छन् ।

जननेता मदन भण्डारीको ६६ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले बुधवार काठमाण्डौमा आयोजना गरेको ‘दीगो विकासको आधार स्थानीय सरकार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

संविधान कार्यान्वयन गरी देशलाई तीव्र रुपमा दीगो विकासतिर लैजानु पर्ने बेला संविधान संशोधनजस्ता सत्ताकेन्द्रित स्वार्थमा मुलुकलाई अल्मल्याउन नहुने उनको भनाई छ । लोकतन्त्रलाई सामाजिक जीवनपद्धतिका रुपमा अपनाएर विकासमा केन्द्रित हुनु पर्ने बेला सरकार बनाउँदा गरेका कागज झिकेर संविधान संशोधनका कुरा झिक्नु अनुपयुक्त हुने ओलीले धारणा थियो ।

एमालेको नीति अनुरुप नै स्थानीय तहलाई सरकारका रुपमा स्थापित गर्ने संवैधानिक ब्यवस्था रहेको बताउँदै ओलीले लोकतन्त्रलाई जनताको तहमा अभ्यास गर्नबाट वर्तमान सरकारले रोक्न खोजेकोमा आपती समेत जनाए ।

कार्यक्रममा यस बर्षको मदन भण्डारी फाउण्डेशन पुरस्कार धुर्मुस र सुन्तली फाउण्डेशनलाई प्रदान गरिएको थियो । धुर्मुस सुन्तली फाउन्डेसनका सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई केपी शर्मा ओलीले पुरस्कार हस्तान्तरण गरेका हुन् । यसका साथै प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एमाले केन्द्रीय कार्यालयले निर्वाचनमा सहभागी हुने सबैलाई धन्यवाद पनि दिएको छ ।