September 26, 2017

कुन कुन नेताले कहाँ कहाँबाट मतदान गरे-

सन्ध्या / काठमाण्डौ, १४ असार । स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा दोस्रो चरणको निर्वाचन सकिएको छ । बिहान ७ बजे देखि सुरु भएको मतदानमा प्रमुख दलका शीर्ष नेताले आ-आफ्नै गृहजिल्ला पुगेर मताधिकारको उपयोग गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराको स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रबाट मतदान गरे । प्रधानमन्त्रीसँगै उनकी धर्मपत्नी डा. आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गरिन् ।

त्यस्तै सभामुख ओनसरी घर्ती मगरले रोल्पा नगरपालिका–७ स्थित बाल उदय मावि मतदान केन्द्रमा मतदान गरिन् । माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि त्यही केन्द्रबाट मत खसाले । त्यस्तै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आफ्नो जन्मथलो रोल्पा नगरपालिका १ बाट मतदान गरे ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफ्नो निर्वाचन क्षेत्र चन्द्रगढीबाट मत दिए । कांग्रेस नेता शेखर कोइराला र सुजाता कोइरालाले विराटनगर महानगरपालिकाको आदर्श विद्यालय केन्द्रबाट मतदान गरे ।

एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलामकै सूर्योदय नगरपालिकाको रम्फोक मतदान केन्द्रबाट भोट हाले । एमाले संसदीय दलका उपनेता तथा पुर्वसभामुख सुवास नेम्वाङ र कांग्रेस नेता केबी गुरुङले इलाम नगरपालिका बालमन्दिर आधारभूत विद्यालय मतदान केन्द्र हाकिमटोलबाट मतदान गरेको बताइएको छ ।

एमाले उपाध्यक्ष बामदेव गौतमले बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ८ त्रिभुवन उच्च मावि मतदान केन्द्रबाट मत दिए । एमाले नेता भीम रावलले अछामको साँफेबगर नगरपालिकाबाट मतदान गर्दा एमाले उपमहासचिव बिष्णु पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ बाट मतदानमा भाग लिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले तिलोत्तमा–८ मा रहेको ज्योति आधारभूत विद्यालय केन्द्रबाट मतदान गरे । एमाले सचिव प्रदीप ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ४, बम्घा निमावि मतदान केन्द्रबाट मत दिए । त्यस्तै एमाले सचिव गोकर्ण विष्टले गुल्मीकै इस्मा गाउँपालिकाबाट मतदान गरे । एमाले नेता शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका ११ बाट मतदान गरे ।

यसैगरी माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धीखर्क नगरपालिकाको अर्घारजस्थल मावि केन्द्रबाट मतदान गरे । राप्रपा उपाध्यक्ष दिपक बोहोराले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बाट मतदान गर्दा महामन्त्री सुनिलबहादुर थापाले धनकुटाको पाख्रिबास नगरपालिकामा मत दिए ।

फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारले सुनसरीको दुहवी नगरपालिकाबाट मतदान गरे । संघीय समाजवादी फोरमका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले विराटनगर महानगरपालिकाको डिग्री क्याम्पस मतदान केन्द्रबाट मत खसाले ।