सप्तरीमा मन्दिर छोएको निहुँमा दलितमाथि कुटपिट

दिनेश शर्मा / राजविराज, १४ असार । डिहिवार थान (मन्दिर) छोएको भन्दै सप्तरीमा एक दलितमाथि कुटपिट गरिएको छ ।

वोदेवरसाईन नगरपालिका वडा नं. ६ का ४२ वर्षिय लिलाधर दास (तत्मा) लाई मंगलबार साँझ गैरदलितहरुले कुटपिट गरेका हुन् । गैरदलितको कुटपिटबाट थलिएका दासलाई बुधबार बिहान स्थानीयले राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा भर्ना गराएपछि घटना सार्वजनिक भएको हो ।

उनको देब्रे हात भाँचिएको छ भने शरीरका अन्य विभिन्न भागमा चोट लागेको छ । प्रत्यक्षदर्शी लक्ष्मी रामका अनुसार स्थानीय डिहिवार थानमा हुने ‘असारी पुजा’ गर्न पुगेका दासमाथि स्थानीयवासी राजकुमार यादव, कासिन्द्र यादव, रामचन्द्र यादव, सकलदेव यादव, जितेन्द्र साह लगायतले अचानक आक्रमण गरेका थिए ।

अन्धाधुन्ध कुटपिट गर्न थालेपछि केही युवाहरुले आफूलाई आक्रमणकारीबाट छुटाएर ज्यान बचाएको पीडितले बताए । उनले भने, ‘भगवान त सबैका साझा हुनुपर्ने हो तर हाम्रो भगवान किन छोएको भन्दै मलाई कुटे ।’

इलाका प्रहरी कार्यालय वोदेवरसाईनका ईन्चार्ज सई उमाशंकर सिंहले पीडितको उजुरीका आधारमा कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक प्रकृया अघि बढाइएको बताए ।