डिआईजी सिलवाललाई थुनामुक्त गरी अदालतमा उपस्थित गराउन सर्वाेच्चको आदेश

काठमाण्डौ, ११ वैशाख । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई थुनामुक्त गरेर अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले सर्वोच्चका रजिष्टारको रोहवरमा अधिवक्ता शम्भु थापाको जमानीमा सिलवाललाई थुनामक्त गर्न आदेश दिएको हो । त्यस्तै थुनामुक्त गरी अदालतमा उपस्थित गराउन पनि आदेश दिइएको छ ।

अधिवक्ता पूर्णप्रसाद राजवंशीले सिलवाललाई आज प्रहरीले गैरकानुनी रूपमा थुनामा लिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर गरेका थिए । यसअघि, नेपाल प्रहरीले सिलवाललाई छानबिनका लागि भन्दै आज बिहान नियन्त्रणमा लिएपछि सर्वोच्चमा रिट दायर भएको थियो ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बोलाएको बैठकमा उपस्थित नभएको, कागजात किर्ते गरेको लगायतका आरोपबारे बयानमा बोलाउँदा नगएपछि सिलवाललाई नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालय उपस्थित गराइएको हो ।

सर्वोच्चमा कार्यसम्पादन मूल्याकंन फाइल पेश गर्ने क्रममा किर्ते गरेको पाइएको भन्दै सरकारले प्रहरी प्रधान कार्यालयलाई छानबिन गर्न निर्देशन दिएपछि सिलवालमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको बताइएको छ ।