September 21, 2017

गुगलमाथि २.४२ अर्ब युरो जरिवाना, आफ्नो प्रभुत्वको दुरुपयोग गरेको इयुको ठहर

काठमाण्डौ, १३ असार । यूरोपियन युनियन (इयु) ले विश्वको लोकप्रिय सर्च इन्जिन गुगलमाथि २.४२ अर्ब युरो जरिवाना लगाएको छ ।

डलरमा हेर्ने हो भने यो रकम २.७ अर्ब डलर हुन जान्छ भने यो रकम २.१ पाउण्ड स्टर्लिङ्ग बराबर हो । गुगलले आफ्नो शक्तिको दुरुपयोग गरेर अनलाइन सपिङ सेवाको एकोहोरो रुपमा प्रचार गरेकोले यस्तो कीर्तिमानी जरिवाना लगाइएको हो ।

इयुको निर्णय अनुसार गुगलले ९० दिनभित्र आफ्ना सबै गैरकानूनी गतिविधि रोक्नुपर्नेछ र तोकिएको समयसीमा तोडेको अवस्थामा अल्फाबेट कम्पनीको दैनिक कमाइको पाँच प्रतिशतसम्म जरिवाना तिर्न वाध्य बनाइनेछ ।

इयुकी कमिस्नर मार्गरेथ वेस्तागेरले गुगलले निश्चित उत्पादनलाई जोड दिएर एकोहोरो प्रचारप्रसार गर्नु गलत भएको र यसले अन्य उत्पादनलाई अन्याय गरेको भन्दै गुगलल सजायको भागिदार भएको बताइन् । उनले भनिन्, ‘गुगलको समग्र गतिविधि हेर्दा इयुको एन्टीट्रस्ट नियम अनुसार अवैध ठहर्छ ।’

यद्दपि गुगलले भने ग्राहकहरुको आवश्यकतालाई महशुस गर्दै यस्तो कदम चालिएको बताएको छ । यो तथ्य सार्वजनिक गर्नका लागि इयुले ७ वर्ष खर्चिएको छ ।