भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटवार्ता

काठमाण्डौ, १३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

भेटघाटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले गरेको स्वागत सम्पूर्ण भारतीयहरूका लागि सम्मान भएको बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले भारत प्रजातन्त्रको अभ्यासका लागि विश्वकै शक्तिशाली मुलुक भएको र मोदीलाई ह्वाइट हाउसमा स्वागत गर्न पाउनु आफ्ना लागि सौभाग्यपूर्ण भएको बताए । राष्ट्रपति ट्रम्पले भारत र अमेरिकाबीचको सम्बन्ध आगामी दिनहरूमा अझै मजबुत हुँदै जाने बताए ।

भेटवार्ता पश्चात् भारतीय प्रधानमन्त्री मोदीले यस भेटवार्ताले अमेरिका र भारतको सम्बन्ध बिस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले अमेरिका राजनीतिक र आर्थिक रूपमा सफल हुनु भारतको समेत हितमा रहेको बताए ।