कपिलवस्तुको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा ‘डग स्निफिङ्ग’ गरियो

काठमाण्डौ, १३ असार । स्थानीय तहको निर्वाचनको सुरक्षालाई मध्य नजर गर्दै कपिलवस्तुको सीमा क्षेत्रमा ‘डग स्निफिङ्ग’ गरिएको छ ।

पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट झिकाइएका ल्याब्रोडोरको माया र जर्मन सेफर्ड जातका प्रशिक्षत कुकुरद्वारा सीमा जोडिएको मर्यादपुर नाकामा डग स्निफिङ्ग गराइएको हो । यी कुकुर हातहतियार तथा विष्फोटक पदार्थ रहेको र नरहेको बारेमा खोजी गर्न प्रख्यात छन् । नेपाल भारत सीमा सिल गरिएसँगै ती क्षेत्रमा कुकुर परिचालनलाई समेत तीव्रता दिइएको छ ।

६ नगरपालिका र ४ गाउँपालिका सहित १० स्थानीय तह रहेको कपिलवस्तु जिल्लाको कुल जिल्लाका ३ सय ८७ मतदान केन्द्र मध्ये १ सय ५३ मतदान केन्द्र अतिसंवेदनशील रहेको, ६५ केन्द्र संवेदनशील र १५ केन्द्र सामान्य संवेदनशील रहेको प्रशासनले जनाएको छ ।