Breaking News

निर्वाचन आयोग भन्छः निर्वाचनको सम्पूर्ण तयारी पूरा, मताधिकारको सदुपयोग गर्नाेस्

काठमाण्डौ, १३ असार । निर्वाचन आयोगले भोलि बुधबार तीन वटा प्रदेशकाे दोस्रो चरणको चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निर्वाचन हुनुभन्दा एक दिन अघि मंगलबार आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गरेर आयोगले यस्तो जानकारी दिएको हो । साथै सुरक्षाको उचित प्रबन्ध मिलाइएको भन्दै आयोगले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आह्वान गरेको छ । आयोगले बिहान ७ बजेदेखि ५ बजेसम्म मतदानको व्यवस्था मिलाइएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदाता परिचय पत्र लिएर मात्र मतदान गर्न जान आग्रह गरेका छन् । यदि मतदाता परिचय पत्र हराए वा लिन नपाएको भए आयोगले तोकेको वैकल्पिक व्यवस्था अनुसारका कागजपत्र लैजान पनि उनले आग्रह गरे ।

भोलि असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका र नगरपालिकाको नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । जसमा १ महानगर, ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिका पर्छन् । निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता छन् ।

यसअघि वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा निर्वाचन भएको थियो । प्रदेश नम्बर २ का ८ जिल्लाको स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते निर्वाचन तोकिएको छ ।

shares