Breaking News

‘गृह प्रशासन मार्गचित्र २०७४’ सार्वजनिक

काठमाण्डौ, १३ असार । गृहमन्त्रालयले गृह प्रशासन मार्गचित्र २०७४ सार्वजनिक गरेको छ ।

जवाफदेही गृह प्रशासन, शान्ति सुरक्षा र प्रशासन नारा रहेको उक्त ८४ बुँदे मार्गचित्र गृहमन्त्री जनार्दन शर्माले सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन् । गृहमन्त्री शर्माले गृहप्रशासन सुधार्न आफ्नो कार्यकालमा गर्ने सुधारबारे बुँदागत रुपमा सार्वजनिक गरेको मार्गचित्रमा शान्ति, सुरक्षा, प्रहरी प्रशासन, राजमार्ग, यातायात, व्यवसाय लगायतका विषयलाई प्राथमिकता राखिएको छ ।

मार्गचित्रमा आन्तरिक सुरक्षा कार्यक्रम अन्तर्गत प्रहरी जवानको निश्चित डिउटीको समय मिलाउने, मेस, अनुगमन, वैदेशिक रोजगारमा ठगिनेका लागि विदेशी दुतवासमा प्रहरी सहचारी खटाउने उल्लेख छ । प्रहरी निरीक्षक पदमा बढुवाको प्रकृया परिमार्जन गरिने, महानगर, नगर र दुर्गममा प्रहरीको वर्गिकरण गरिने गृहमन्त्री शर्माले प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै सशस्त्र प्रहरी सीमा क्षेत्रमा वोर्डर आउट पोष्ट स्थापना गर्ने, राष्ट्रिय अनुसन्धान विभागलाई व्यवसयिक बनाउने गृहमन्त्रीको प्राथमिकतामा परेको छ । अध्यागमन कार्यलयमा विशेष व्यवस्था मिलाउने, खराब र आतंकारीको पहिचानमा सहकार्य गरिने तथा अध्यागमन भिषाका लागि दुई सिफ्टबाट तीन बनाउने पनि गृहमन्त्रीको कार्ययोजनामा उल्लेख छ । पत्रकार सम्मेलनमा गृहमन्त्री शर्माले भोलि हुने निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको समेत जानकारी दिए ।

५ बर्षमा राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने, ट्राफिक व्यवस्थापनमा सम्बन्धित निकायसँग सहकार्य गरी सहजता र सुलभताका लागि एकिकृत ट्राफिक सुरक्षा व्यवस्था गर्ने लगायतका विषय पनि कार्ययोजनामा उल्लेख छ ।

shares