October 20, 2017

दुई चरणमा चुनाव गरिए दुई राष्ट्रियताको मान्यता स्थापित हुने फोरम नेता सुवेदीको चेतावनी

काठमाडौं ११, बैशाख । सरकारले दुई चरणमा स्थानीय निकायको निर्वाचन गर्ने तयारीमा जुटेपछि संघीय समाजवादी फोरम नेपालका युवा नेता दुर्गामणि सुवेदीले चुनाव एक चरणमा नभए मुलुकमा दुई राष्ट्रियताको मान्यता स्थापित हुने चेतावनी दिएका छन् ।
उनले एकै चरणमा निर्वाचन सम्भव रहेको भन्दै निर्वाचनको नाममा मुलुकलाई दुई राष्ट्रियतामा विभाजित हुनेगरी विखण्डनको बीऊँलाई मलजल नगर्न सरकारलाई सचेत गराएका छन् ।
देशमा अर्को काश्मिर नजन्माउने हो भने परिमार्जन सहित संविधान संशोधन गरी मुलुकमा शान्ति, विकास र स्थायित्वका लागि एकै चरणमा चुनाव सम्पन्न गर्नुपर्ने सुवेदीले बताए ।
‘विगतका सहमति कार्यान्वयन नगर्ने प्रमुख तीन दलको बेइमानीले गर्दा संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशी जस्ता महत्वपूर्ण एजेन्डा खतरामा छन्’– लोकतन्त्र दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै फोरम नेपालका युवा नेता सुवेदीले भने,– ‘एकै चरणमा चुनाव सम्पन्न नगर्ने हो भने अराजकताको वेगले प्राप्त सबै उपलब्धि नै गुम्न सक्छ ।
संघीयताको मर्म अनुसार पहिले केन्द्र, प्रदेश अनि प्रदेश सरकारले मात्र स्थानीय निकायको चुनाव गराउनु पर्नेमा जोड दिँदै नेता सुवेदीले सरकार संघीयतालाई समाप्त गर्ने खेलमा लागेको आरोप लगाएका छन् ।
परिमार्जनसहित संविधान संशोधन नभए कुनै पनि हालतमा चुनाव हुन नदिने चेतावनी दिँदै उनले भने,– ‘हामी पनि चुनाव विरोधी होइनौं, तर संघीय लोकतन्त्रको मुल्य र मान्यता विपरीत चुनाव भए मुलुक अनिश्चितकालीन द्घन्द्घमा फस्ने निश्चित छ ।’