सौर्य बत्तीले झलमल्ल बनाउँदैछ काठमाण्डौ सहर, महानगरलाई फाइदैफाइदा

काठमाण्डौ, १३ असार । काठमाण्डौ उपत्यकालाई उज्यालो बनाउने लक्ष्यका साथ काठमाण्डौ महानगरपालिका र निजी क्षेत्रको सहकार्यमा धमाधम सौर्य बत्ती जडान भइरहेको छ ।

यही महिनाको अन्त्यसम्म एक हजार २८५ वटा सौर्य प्रणाली जडान हुने महानगरले जनाएको छ । महानगरभित्रका मुख्यमुख्य सडकलाई उज्यालो र झिलिमिली बनाउने लक्ष्यका साथ सौर्य बत्ती जडान कार्य अगाडि बढाइएको र त्यसमा महानगरको लगानी नपर्ने, उल्टै फाइदा हुने प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । महानगरले काठमाण्डौको सडक झिलिमिली बनाउनका लागि बीके ट्रेडर्स एन्ड सप्लायर्सलाई सौर्य प्रणाली जडान गर्ने जिम्मा दिएको छ

दैनिक रातको समयमा २० देखि ३० वटा सौर्य प्रणाली जडान भइरहेको छ । सार्वजनिक निजी साझेदारीअन्तर्गत सप्लायर्सले २०७३ साल कात्तिकदेखि सडकमा सौर्य प्रणाली जडान गरिरहेको हो । सो सप्लायर्सका प्रमुख रोशन श्रीवास्तवले करिब ५० करोड रुपियाँको लागतमा प्रणाली जडान भइरहेको जानकारी दिए ।

महानगरलाई फाइदैफाइदा
उनका अनुसार महानगर क्षेत्रमा जडान गरिएका सडक बत्ती आगामी १० वर्षपछि महानगरको स्वामित्वमा आउनेछ । महानगरले उपलब्ध गराएको स्थानमा प्रवद्र्धकले प्रतिपोल आठ हजार सात सय रुपियाँ वार्षिक शुल्क र विज्ञापनबापत सात हजार दुई सय रुपियाँ महानगरलाई उपलब्ध गराउनेछ । त्यसबापत प्रवद्र्धकले सौर्य बत्तीको पोलमा विज्ञापन राख्न पाउनेछ ।

हालसम्म महानगरका सडकमा ५६० वटा सौर्य बत्ती जडान गरिसकिएको छ भने असार मसान्तसम्म सबै जडान हुनेछन् । हाल जडान भएको सौर्य प्रणालीमा लिथियम ब्याट्री प्रयोग भएको छ भने आगलागी प्रतिरोधक पोल राखिएको प्रमुख श्रीवास्तवले बताए ।

१० मिनेट सामान्य रूपमा घाम लागे पनि राति बल्ने प्रणाली जडान भएको जानकारी दिँदै उन्ल्ले हालसम्मकै अत्याधुनिक ‘सोलार सिस्टम’ प्रयोग भएको बताए । वर्षाको समय कतिपय स्थानमा सडकपेटी नभएको र नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीका कारण बत्ती जडानमा केही समस्या आएको प्रमुख श्रीवास्तवले जानकारी दिए । याे खबर गोरखापत्र दैनिकमा छ  ।