September 25, 2017

सिंगो गाउँमा १७ भोट मात्रै

ताप्लेजुङ,१३ असार । निर्वाचन आयोगको तथ्यांकअनुसार फक्तालुङ गाउँपालिका–७ याङमामा ५५ मतदाताको नामावली सूचीकृत छ ।

बुधबार हुने स्थानीय तह चुनावमा भने यहाँ १७ मत मात्रै खस्नेछ । वडाका उम्मेदवारहरूका अनुसार नामावलीमा नाम भएकामध्ये कसैको मृत्यु भइसकेको छ भने कोही विदेशमा छन् । काठमाण्डौमा भएका कतिपय नआउने निश्चित भइसकेको छ । चुनावका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई नासु वा खरिदारस्तरका सहायक कर्मचारी र एक सहयोगीसहितको टोली पुगिसकेको छ ।

पाँच सयभन्दा कम मतदाता भएकोमा पाँच कर्मचारी पठाउने नियमानुसार उनीहरूलाई खटाइएको हो। दुई स्थानीय सहयोगी कार्यकर्ता राख्नुपर्ने प्रावधान छ । उनीहरूसँग प्रहरी र सशस्त्रको टोली छ भने सेनाले समेत यो क्षेत्रमा गस्ती गरिरहेको छ ।  मतदानपछि भने मतपेटिकालाई हेलिकोप्टरबाट ओसारिनेछ, विगतमा जस्तै ।

‘यो क्षेत्रमा एक बस्तीबाट अर्को बस्ती पुग्न एक दिन लाग्ने भएकाले थोरै मतदाता भए पनि बस्तीपिच्छे केन्द्र राखेका छौं,’ मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले भने, ‘सबै मतदाताको अधिकार सुरक्षित गर्न र मतदाताको सुविधालाई ध्यानमा राखेर बस्तीमै मतदान केन्द्र राखिएको हो ।’ मात्रै १७ मत भए पनि मताधिकारको कदर गर्दै राज्यले कर्मचारी र सुरक्षाकर्मी मात्रै खटाएको छैन, आवश्यक रकम पनि खर्चिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार याङमामा सुरक्षाकर्मीका लागि बाहेक १ लाख ३९ हजार ४ सय रुपैयाँ खर्च हुनेछ । कर्मचारीको १ लाख २ हजार २ सय, मतदान केन्द्र खर्च १३ हजार ९ सय, परिचयपत्र वितरणका लागि ७ हजार ३ सय र अतिरिक्त ३ हजार रुपैयाँ खर्च हुन्छ । मतपत्र र मतपेटिका बाँध्न प्रयोग गरिने सामग्री, प्लास्टिकलगायत वस्तुमा पनि थप खर्च हुनेछ ।

सदरमुकाम फुङलिङबाट लगातार हिँडदा तीन दिनमा मात्रै पुगिने याङमामा जस्तै ओलाङचुङगोला, घुन्सा र ग्याब्लामा पनि मतदाता थोरै भए पनि कर्मचारी र सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् । ४० मतदाता रहेको ग्याब्लामा १ लाख २९ हजार ६ सय रुपैयाँ खर्च हुने निर्वाचन कार्यालयले जनाएको छ । घुन्सामा १ लाख २६ हजार ४ सय खर्च हुन्छ । यहाँ १ सय २६ मतदाता छन् । ओलाङचुङगोलामा १ लाख ३० हजार खर्च हुन्छ । यहाँ २ सय ७ मतदाता छन् । याे खबर  कान्तिपुर दैनिकका छ ।