September 23, 2017

अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा नेवानिकी रञ्जना प्रथम

काठमाण्डौ, १२ असार । अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा नेपाल वायु सेवा निगमकी रञ्जना पोखरेल पहिलो भएकी छिन् ।

चार खेलाडी सहभागी महिला सिंगल्सको राउन्ड रोविन लिगमा रञ्जनाले शत प्रतिशत जित निकाल्दै उपाधि जित्न सफल भएकी हुन् । उनले उषा सिम्खडा, निमा डोमा शेर्पा र अन्जु शाहलाई समान २–० को नतिजामा पाखा लगाइन् । अन्जु शाह र निमालाई समान २–० को सोझो सेटमा हराएकी उषा दोश्रो भइन् । निमाले तेश्रो स्थानमा चित्त बुझाइन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा जारी प्रतियोगिताको पुरुष सिंगल्समा कतार एयरवेजका कमल श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् । कमलले निगमका सुरेशविक्रम हमाललाई पराजित गरेका हुन् । फाइनलमा कमलको भेट निगमका नवीनबहादुर शाक्यसँग हुनेछ । नवीन एयर अरेबियाका प्रज्ज्वल कर्माचार्यलाई ३–० को सीधा सेटमा पाखा लगाउदै यसअघिनै फाइनलमा पुगिसकेका छन् ।

तेश्रो स्थानका लागि भएको खेलमा भने सुरेशले सफलता पाएका छन् । उनले एयर अरेबियाका प्रज्ज्वललाई ११–७, ११–६ र ११–३ को सोझो सेटमा पराजित गरे । पुरुष डबल्समा निगमका नवीन र प्रितम प्रधानको जोडी फाइनलमा पुगेका छन् । उक्त जोडीले निगमकै जयबहादुर चन्द र समिर केसीको जोडीलाई १६–१४, ११–७ र ११–९ को सोझो सेटमा हराए ।