Breaking News

सरकारले संविधान संशोधनको नाममा राजपासँग गरेका वाचा एमाले मान्न वाध्य नहुने ओलीको चेतावनी

काठमाण्डौ, १२ असार । नेकपा एमालेका अध्यक्ष केपी ओलीले तेस्रो चरणको चुनावअघि संविधान संशोधनका नाममा सत्तापक्षले राजपासँग गरेका वाचा पूरा गर्न एमाले वाध्य नहुने बताएका छन् ।

पार्टी मुख्यालयमा सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले यो कुरा बताएका हुन् । उनले निर्वाचन बहिष्कार गर्ने दलले नै निर्वाचनमा स्वतन्त्र उम्मेद्वार उठाएको दाबी समेत गरे ।

अध्यक्ष ओलीले राजनीतिका नाममा चलाइएका हिंसात्मक अपराधको सञ्चालक सरकार रहेकोमा पनि आशंका व्यक्त गरे । उनले एमालेका उम्मेदवारमाथि आक्रमण, धरपकड र कुटपीट गर्ने काम बन्द गर्न सरकारलाई चेतावनी दिए ।

पहिलो चरणको निर्वाचनमा राज्यका तर्फबाट विपक्षी दलका उम्मेदवारलाई कुटपीट गर्ने, कार्यकर्ताको हत्या गर्ने, बुथ कब्जा गर्ने र मतपत्र च्यात्ने काम भएको बताउँदै ओलीले सम्बन्धित पक्षले त्यसलाई नदेख्दा निर्वाचनको स्वच्छतामाथि प्रश्न उठेको बताए ।

ओलीले निर्वाचनको स्वच्छतालाई दुषित नबनाउन सरकार र निर्वाचन आयोगलाई आग्रह गरे । उनले निर्वाचन आयोगबाट निर्वाचनको निष्पक्षता, गरिमा र स्वच्छता बाहेक आफ्नो पार्टीले कुनै सहुलियत नखोजेको पनि बताए ।

चुनावी नतिजा आउनै लागेको भरतपुरको मतगणना रोकेर अल्झाएर राखिएको र अहिले क्षणिक रुपमा त्यसबाट एमालेको जीत रोक्न सके पनि त्यसले दीर्घकालीन रुपमा नकारात्मक प्रभाव पारेको ओलीले बताए ।

shares