लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाण्डौ, १२ असार । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

दिवसका अवसरमा सरकारले सोमबार काठमाण्डौमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपालमा लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बढेको गृहमन्त्रालयले जानकारी दिएको हो ।

गृह मन्त्रालयका अनुसार नेपालमा लागूऔषध प्रयोग गर्नेको सङ्ख्या २०६९ सालमा ९१ हजार ५३४ थियो । २०६३ सालको तुलनामा यो झन्डै ४५ हजारले बढी हो । गृह मन्त्रालयको आयोजनामा देशभर नै लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहेको छ ।

लागुऔषध नियन्त्रण शाखाले आव २०७३–७४ मा १९ जिल्लामा गाँजा र अफिम नष्ट, झन्डै १० हजार विद्यार्थी तथा युवालाई यस सम्बन्धी चेतनामूलक कार्यक्रम, पूर्व लागूऔषध प्रयोकर्ताबाट तालिम प्रदान तथा ५० भन्दा बढी पुनःस्थापना केन्द्रको अनुगमन गरेको जनाएको छ ।

मन्त्रालयले सन् २०११ देखि २०१६ सम्म लागूऔषध प्रयोग गरी जेल पर्नेको सङ्ख्या १५ हजार ४९३ पुगेको जानकारी दिएको छ ।

यसअघि लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध सचेतना जगाउने उद्देश्यले रत्नपार्कबाट बाजागाजासहित निस्केको पदयात्रा असन, जमल, दरबारमार्ग हुँदै नेपाल प्रज्ञा प्रतिष्ठान पुगेर सम्पन्न भएको थियो ।