November 19, 2017

इंग्ल्याण्ड १९ रनले विजयी, टी–ट्वान्टी सिरिज २–१ ले जीत्यो

काठमाण्डौ, १२ असार । इंग्ल्याण्ड भ्रमणमा रहेको साउथ अफ्रिकामाथि हिजो भएको अन्तिम टि–ट्वान्टी प्रतियोगितामा १९ रनको जीत दर्ता गर्दै इंग्ल्याण्डले ३ खेलको श्रृङ्खला २–१ ले जीतेको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८१ रन बनाउन सक्यो । उसका लागि अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा डेब्यु गरेका डेविड मलनले सर्वाधिक ७८ रनको पारी खेले । त्यस्तै एलेक्स हेल्सले ३६ र जोस बटलरले ३१ रन बनाए ।

साउथ अफ्रिकाका लागि डेन पटेरसनले ४ विकेट लिए । त्यस्तै एन्डिल फिल्हुकवोयाले २ विकेट लिए भने मोर्ने मर्केल र इमरान ताहिरले समान १–१ विकेट लिए ।

१ सय ८२ रनको विजय लक्ष्यका साथ मैदानमा उत्रिएको साउथ अफ्रिका निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६२ रनमा सीमित भयो । साउथ अफ्रिकाका लागि कप्तान एबी. डी. भिल्लीयर्सले ३५ र मङ्गलिसो मोसिलेले ३६ रन बनाए ।

इंग्ल्याण्डका लागि क्रिस जार्डनले ३ विकेट लिँदा टम कुर्रनले २ विकेट लिए । त्यस्तै लियाम पल्नकट र मसन क्रेनले समान १–१ विकेट लिए ।