September 23, 2017

१४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेर फरार भएका राउत ६ वर्षपछि पक्राउ

काठमाण्डौ, १२ असार । एक बालिकालाई बलात्कार गरेको आरोप लागेका श्याम राउत करिव ६ वर्षपछि पक्राउ परेका छन् ।

२०६८ साल माघ ५ गते रामेछापको तत्कालीन सैंपू गाविसकी १४ वर्षीया सुन्तली तामाङलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले राउतलाई पक्राउ गरेको सोमबार पत्रकार सम्मेलन गर्दै प्रहरीले जानकारी दिएको छ ।

घटनापछि भारतको अन्डमान निकोबार टापुमा बस्दै आएका राउतलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा आईतबार भैरहवा सीमा नाकाबाट पक्राउ गरी काठमाण्डौ ल्याइएको मध्य क्षेत्रीय प्रहरी कार्यालय, हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश केसीले जानकारी दिए ।

सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी प्रहरीले राउतले आफू सो घटनाको मुख्य अभियुक्त भएको स्वीकार गरेको पनि जानकारी दिए । प्रहरीले पीडित पक्षको गोप्य सूचनाको आधारमा अभियुक्त राउतलाई पक्राउ गर्न सहज भएको पनि जनाएको छ ।

मृतक सुन्तली तामाङका आमा रामेछाप सैंपूकी डिल्लीमाया तामाङले घटनाको अनुसन्धानमा लापरवाही गरेका प्रहरी र दोषीलार्ई कडा भन्दा कारबाही गर्नुपर्ने बताइन् । डिल्लीमाया तामाङकी १४ वर्षीया छोरी सुन्तलीको २०६८ सालमा स्थानीय लिखुखोलाको झोलुंगे पुलमा हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

घटनालगत्तै फरार रहेका आरोपी राउत भारतको विभिन्न सहरमा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेकोे प्रहरीले जानकारी दिएको छ ।