Breaking News

धुमधामका साथ ईद–उल–फित्र मनाइँदै

काठमाण्डौ, १२ असार । ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद–उल–फित्र आज देशभर धुमधामका साथ मनाइँदैछ ।

आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा (ब्रत) सकिएको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । विश्वभरका ईस्लाम धर्मावलम्बी मुसलमानहरु एक महिनासम्म रोजा बस्दछन् । आईतबार बेलुका चन्द्रमा देखिएपछि ईस्लामिक पात्रो अनुसार रमजान महिनामा एक महिना रोजा (ब्रत) पूरा गरी ईद मनाउने चलन छ । रमजान महिना सकिएलगत्तै ‘रोजा’ सकिने र ईदगाहको मस्जिदमा सामूहिक रुपमा प्रार्थना गरी शुभकामना साटासाट समेत गर्ने चलन छ ।

रोजा सूर्योदय हुनुअघिदेखि सूर्यास्तसम्म चल्ने र यस महिनामा धनी वर्गले गरीबलाई आर्थिक सहयोग लगायत अन्य दान दिने चलन रहँदै आएको छ । मुस्लिम समुदायको बाहुल्य रहेका नेपालगञ्ज, भैरहवा, गोरखा, काठमाण्डौ, सुनसरी, मोरङ, सप्तरी लगायत देशभरिका विभिन्न जिल्लामा रौनक छाएको छ ।

ईस्लामिक पात्रो हिजरी सम्वत अनुसार रमजान नवौं महिना अन्तर्गत पर्दछ । उक्त पात्रोमा यसलाई पूर्ण रुपमा ‘रमजानल मुबारक’ भनिन्छ । ईद पर्वको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा पनि दिएको छ ।

shares