Breaking News

नेकपा (विप्लव) पक्षले गरेको निर्वाचन बहिष्कारकाे कुनै तुक नरहेकाे गृहमन्त्रीकाे स्पष्टाेक्ति

शरद रेग्मी / दाङ, १२ असार । गृहमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ ले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) पक्षले गरेको निर्वाचन बहिष्कारको कुनै तुक नरहेको बताएका छन् ।

सोमबार बिहान रिपोर्टर्स क्लब दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले विप्लवको निर्वाचन बहिष्कारलाई जनताले खिल्ली उडाइदिएको बताए । ‘निर्वाचन खारेजीको घोषणा गरिरहेको कुरा नैतिक रुपमा समाप्त भइसकेको छ ।’ उनले थपे ‘जनक्रान्तिको भेष्ट लगाएर थवाङ र पाखापानीमा निर्वाचनमा सहभागी भएको तपाँईले पनि सुन्नु भएको होला, कतै सहभागी हुने र कतै बहिस्कारको कुरा गर्नु नीतिगत रुपमा मिल्दैन ।’

उनले राष्ट्रिय जनतापार्टी नेपाल लगायत विप्लवले पनि यो निर्वाचनमा भाग लिएकोले सबै दलहरुले दोस्रो चरणको निर्वाचनमा सहभागिता जनाएको बताए । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि नेपाल प्रहरीलाई प्रमुख जिम्मेवारी प्रदान गरिएको र त्यसपछि सशस्त्र प्रहरी र नेपाली सेना समेत सुरक्षाको लागि खटिने गृहमन्त्रीले बताए ।

shares