September 25, 2017

परराष्ट्रमन्त्री महरा भारत जाँदै , यस्ता छन् २ एजेन्डा

काठमाण्डौ, १२ असार । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा औपचारिक भ्रमणका लागि २० साउनमा भारत जाने भएका छन् ।

नयाँ सरकार गठनपछि महराको यो पहिलो विदेश भ्रमण हुनेछ । परराष्ट्र मन्त्रालयले भारतीय विदेश मन्त्रालयसँगको समन्वयमा भ्रमणका एजेन्डाबारे आन्तरिक गृहकार्य गरिरहेको छ । महरासँग परराष्ट्र सचिव शंकरदास बैरागी, भारत हेर्ने महाशाखा प्रमुख सहसचिव भृगु ढुंगाना र महराका प्रमुख स्वकीय सचिव युवराज चौलागाईं पनि भारत जाने भएका छन् ।

दिल्लीबाट प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, उपनियोग प्रमुख भरत रेग्मी र राजनीतिक काउन्सिलर हरि ओडारी पनि थपिनेछन् । तर, भ्रमणबारे नेपाल र भारतले औपचारिक रूपमा सार्वजनिक गरेका छैनन् । महराको भारत भ्रमणको पहिलो एजेन्डा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको तयारी गर्नु हुनेछ । देउवाले ३१ साउनमा भारत भ्रमण गर्नेबारे नेपाल र भारतबीच कूटनीतिक च्यानलमा कुराकानी भइरहेको छ ।

त्यसका लागि नेपाल र भारतबीच सहकार्यका क्षेत्रमा देखिएका नीतिगत समस्या समाधानका लागि महराले पहल गर्नेछन् । दोस्रो, नेपालले मानवअधिकार परिषद्को सदस्यका लागि यसपटक उम्मेदवारी दिएको छ । त्यसका लागि दिल्लीमा रहेका विभिन्न मुलुकका गैरआवासीय राजदूतहरूसँग लबिङ गर्ने पनि भ्रमणको उद्देश्य रहेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । याे खबर नयाँ पत्रिका दैनिकमा छ ।