October 24, 2017

एमाले भन्छ – ‘सरकार निर्वाचन गराउन नै चाहँदैन’

काठमाण्डौ, ११ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई चरणको निर्वाचनका लागि  ‘एक महिनाको अन्तर’ ले सरकार निर्वाचन नगर्ने खेलमा लागेको निष्कर्श निकालेको छ ।

अध्यक्ष ओलीे निवास बालकोटमा सोमबार बसेको स्थायी समितिको बैठकले जेठ ३१ गते निर्वाचन गर्नु देशलाई अस्थिरता तर्फ धकेल्ने प्रयास भएको आरोप समेत लगाएको छ । बैठकपछि एमाले सचिव योगेश भट्टराईले दुई चरणको निर्वाचन हुनसक्ने भएपनि  ‘एक महिनाको अन्तर किन राखियो’ भन्ने प्रश्न उठेको बताए ।

वैशाख ३१ गते एकै चरणमा निर्वाचन गर्ने भनेर प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवाले यसअघि नै बताएकाले निर्वाचन एकै चरणमा गर्नुपर्ने एमालेको धारणा रहेको छ। भट्टराईले मुलुक चुनावमय भइसकेको अवस्थामा फेरी चुनावको मिति तलमाथि सार्ने कुरा एमालेले नमान्ने स्पष्ट पारे । जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने तर आचारसंहिताले नमिल्ने अवस्थामा जेठ ३१ मा निर्वाचन नहुने एमालेको जिकिर छ ।

एमाले बैठकले संविधानको धारा २७४ लाई समाप्त पार्न खोजिएको भन्दै देशको निकासको लागि भन्दा पनि सत्ता साझेदारीका लागि मात्रै मधेसी मोर्चाबीच सहमति भएको आरोप लगाउँदै त्यो कुनै पनि हालतमा आफूलाई अमान्य हुने बताएकोे छ ।