September 21, 2017

आफ्नो टेबुलमा आएको फाइल छिटो अघि बढाउन सहरी विकासमन्त्री साहको निर्देशन

काठमाण्डौ, ११ असार । सहरी विकासमन्त्री प्रभु साहले फाइल अड्काउने काम बन्द गर्न मन्त्रालय र अन्तर्गतका निकायलाई निर्देशन दिएका छन् ।

सिंहदरबारमा आज पत्रकार सम्मेलन गरी मन्त्री साहले आफ्नो टेबुलमा आएको फाइल तुरुन्त अघि बढाउन कर्मचारीलाई निर्देशन दिएका छन् । कसको शाखामा गएर कति दिन फाइल अड्कियो भन्ने विवरण लिएर सोही अनुरूपको कारबाही अघि बढाउन सचिवलाई निर्देशन दिइसकेको भन्दै साहले मन्त्रालय अन्तर्गतका निकायबाट भइरहेको भौतिक पूर्वाधार निर्माणका काम समयमै नहुनुका कारण खोज्नुपर्नेमा पनि जोड दिए ।

मन्त्रालयले प्रदेश स्तरका सरकारी पूर्वाधारको आवश्यकता पहिचान एवं मापदण्ड निर्धारत गर्न आवास तथा भवन महाशाखा प्रमुखको संयोजकत्वमा सात सदस्यीय कार्यटोली गठन गरेको जनाएको छ । कार्यटोलीलाई दुई महिनाभित्र प्रतिवेदन पेश गर्ने कार्यभार दिइएको छ ।