August 23, 2017

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनमा पनि नयाँ मतपत्र छपाई र दल दर्ताको समय दिन नसक्ने

काठमाण्डौ, ११ वैशाख । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनमा पनि नयाँ मतपत्र छपाई र दल दर्ताको समय दिन नसकिने बताएको छ ।

सोमबार बिहान बसेको सरकार, मधेसी गठबन्धन र निर्वाचन आयोगका पदाधिकारीबीचको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दल दर्ताको समय दिन नसकिने बताएका हुन् । प्रमुख आयुक्त यादवले मतपत्र छपाइको नयाँ प्रक्रिया सुरु गर्न पनि नसकिने बैठकमा जानकारी दिए ।

बैठकले पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति वैशाख १६ गतेलाई वैशाख १८ मा सार्ने, निर्वाचन आयोगको आफ्नो अन्य तयारीलाई यथावत् राख्ने निर्णय गरेको छ । छलफलमा निर्वाचनलाई कसरी सफल बनाउने भन्ने बिषयमा छलफल भएको समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

सरकार र गठबन्धनबीचको बैठकले संविधान संशोधन र निर्वाचनबारे गरिएको सहमति महत्वपूर्ण भएको निष्कर्ष निकाल्दै केही दिन भित्रै राष्ट्रिय सहमतिको दस्तावेज बनाएर हस्ताक्षर गर्ने निर्णय पनि गरेको छ ।