September 26, 2017

फिफा कन्फेरेडेसन कपमा आज समूह ‘बी’ का दुई खेल हुँदै

निलम / काठमाण्डौ, ११ असार । फिफा कन्फेडेरेसन कप फुटबल प्रतियोगितामा आज राति समूह ‘बी’ का अन्तिम दुई खेल हुँदैछन् ।

प्रतियोगिताअन्तर्गत आज हुने समूह चरणको खेलमा विश्वविजेता जर्मनी र क्यामरुन तथा चिली र अष्ट्रेलिया भिड्न लागेका हुन् । रसियाको फिष्ट ओलम्पिक स्टेडियममा नेपाली समयअनुसार राति पौने नौ बजे हुने खेलमा क्यामरुनले जर्मनीको सामना गर्नेछ । समूह चरणमा अहिलेसम्म खेलेका दुई खेलमध्ये एक जित र एक बराबरी खेलेको जर्मनी आज क्यामरुनलाई हराउँदै सेमीफाइनलमा स्थान बनाउने दाउमा छ । यी दुई टोलीबीच भएका पछिल्ला तीन खेलमा जर्मनीले दुई जित हात पार्दा एक खेल भने बराबरीमा सकिएको थियो ।

त्यस्तै, आजै राति पौने नौ बजे हुने अर्को खेलमा अष्ट्रेलिया र चिलीबीच प्रतिस्पर्धा हुनेछ । अष्ट्रेलिया र चिलीबीचको खेल ओतक्रिटाई एरिनामा हुनेछ । समूह ‘बी’ को पहिलो स्थानमा रहेको चिली आजको खेलमा तेस्रो स्थानमा रहेको अष्ट्रेलियालाई पाखा लगाउँदै सेमिफाइनल पुग्ने दाउमा छ । पछिल्लो समय सन् २०१४ मा भएको विश्वकप फुटबलमा चिलीले अष्ट्रेलियालाई ३/१ गोल अन्तरले हराएको थियो ।

यसअघि, हिजो भएको खेलमा न्युजिल्याण्डलाई ४/० गोल अन्तरले हराउँदै पोर्चुगल समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल प्रवेश गरेको थियो । त्यस्तै, आयोजक रसियालाई २/१ गोलले हराएपछि मेक्सिको समूह उपविजेता बन्दै कन्फेडेरेसन कपको सेमीफाइनलमा पुगेको थियो ।