August 24, 2017

उम्मेदवारी दर्ताको मिति बैशाख १८ गते सार्न समझदारी

काठमाण्डौ ११ बैशाख । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मिति बैशाख १८ गतेलाइ सार्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलपछि बैशाख १६ गते तोकिएको उम्मेदवारी दर्ताको समय १८ गतेका लागि सारिने भएको हो ।

अन्य निर्वाचनका कार्यक्रम भने यथावत रहनेछन । दोस्रो चरणको निर्वाचनका लागि दल दर्ताको व्यवस्था गर्ने तर चुनाव चिन्हसम्बन्धी व्यवस्था निर्वाचन आयोगले तोकेबमोजिम हुने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्थाले निर्वाचन आचारसंहिता आकर्षित हुने भएकाले बजेटलाई केही समय पर सार्ने विषयमा पनि कुराकानी भएको थियो ।

बैठकपछि निर्वाचनसंग सम्बन्धित सम्पूर्ण अन्यौल हटेको प्रमूख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए । आयोगसंगको छलफलअघि सरकार र संघीय गठबन्धनमा आवद्ध दलहरुबीच कुराकानी भएको थियो ।

सरकार र गठबन्धन बीचको बैठकले संविधान संशोधन र निर्वाचनबारे गरिएको सहमति महत्वपूर्ण भएको निष्कर्ष निकाल्दै केही दिन भित्रै राष्ट्रिय सहमतिको दस्तावेज बनाएर हस्ताक्षर गर्ने निर्णय पनि गरेको छ ।