November 17, 2017

पाकिस्तानमा तेल ट्यांकर पड्किएर आगलागी, १ सय २३ जनाकाे मृत्यु

काठमाण्डाै, ११ असार । पाकिस्तानको पन्जाब प्रान्तमा एउटा इन्धन बोकेको ट्यांकर पड्किएर आगलागी हुँदा कम्तीमा १ सय २३ जनाकाे ज्यान गएकाे छ ।

ट्यांकर पल्टिएर सुरु भएको आगो राजमार्गमा गुडेका अरु गाडीमा सल्किएपछि धेरै मानवीय क्षति भएको हो । ट्यांकर पल्टिएपछि चुहिएको तेल संकलन गर्न पुगेका स्थानीय बासिन्दा पनि अचानक आगो सल्किँदा जलेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घटनामा झण्डै ८० जना घाइते भएको र घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ ।

तर घाइतेको उपचारका लागि सुविधा सम्पन्न अस्पताल नजिकमा नरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न स्थानीय अधिकारीले जनाएको छ । आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रक खटिएका छन् । तेल ट्यांकर तीव्र गतिका कारण पल्टिएको र त्यसपछि आगो सल्किएको जनाइएको छ । ज्यान गुमाउनेको पहिचान गर्न सकिने अवस्था नरहेको र त्यसका लागि डिएनए परीक्षण गर्नु पर्ने देखिएको छ ।