आज मध्यरातबाट मौन अवधि सुरु, दलहरु चुनावी प्रचार प्रसारकाे अन्तिम कसरतमा

काठमाडौं, ११ असार । १४ असारमा हुने स्थानीय तह दोस्रो चरण निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दलहरू चुनावी प्रचार प्रसारकाे अन्तिम कसरतमा  जुटेका छन् ।

प्रदेश–१, ५ र ७ गरी ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा नौ वटा दलले चुनावी तयारीलाई अन्तिम चरणमा पुर्‌‍याएका छन् । मौन अवधि सुरु हुन एक दिन बाँकी रहँदा सबैजसो दलका शीर्ष नेतृत्व जिल्लाजिल्लामै प्रचार प्रसार सहितका चुनावी सभामा केन्द्रित भएका छन् ।

बुधबार हुने दोस्रो चरणको निर्वाचनलाई आफ्नो पक्षमा पार्ने रणनीतिसहित सबैजसो राजनीतिक दलका शीर्ष नेतृत्व केही दिनअघि बाटै जिल्ला दौडाहामा छन् । मतदातालाई विभिन्न एजेन्डा देखाएर दलहरूले यतिबेला आफ्ना उम्मेदवारहरूलाई मत मगिरहेका छन् ।

आइतबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले मत माग्न तथा निर्वाचनको प्रसारप्रसार गर्न नपाइने हुँदा पनि आइतबार अन्तिम प्रचारप्रसार हुँदै छ । स्थानीय स्तरमा पार्टीले टिकट दिएका आधिकारिक उम्मेदवारलाई मत माग्न सबैजसो दलका नेताहरूलाई पार्टीले जिल्ला कमान्डरसहित नै जिम्मेवारीमा खटाएको छ । याे खबर राजधानी दैनिकमा छ ।