Breaking News

२० वर्षपछि पनि उनै अनुहार, मतदातामा छैन नयाँपनको महसुस

काठमाण्डौ,११ असार । स्थानीय चुनावको रौनक पूर्वी पहाडको सबैभन्दा पुरानो नगरपालिका इलाममा पनि छाएको छ, तर नगरका मतदातालाई कुनै नयाँपनको महसुस भने भएको छैन ।

किनकि मैदानमा २० वर्षपछि पनि उनै अनुहार छन्, त्यो पनि प्रमुख प्रतिस्पर्धीका रूपमा । २०५४ मा भएको स्थानीय चुनावमा यो नगरमा प्रमुखमा एमालेबाट महेश बस्नेत र कांग्रेसबाट हिमालय कर्माचार्य उम्मेदवार थिए । २० वर्षपछि समेत दुवैजना हस्ती उम्मेदवार छन् । प्रमुखमा ६ जना उम्मेदवार भए पनि प्रमुख टक्कर भने उनीहरू दुई जनाबीच नै छ । बस्नेत २० वर्षअघि झिनो मतान्तरमा कर्माचार्यलाई हराएर प्रमुख चुनिएका थिए ।

त्यतिबेला बस्नेतले २ हजार १ सय ७४ तथा कर्माचार्यले २ हजार १ सय १ मत ल्याएका थिए । जितको अन्तर थियो जम्मा ७३ मत । यस पटक १२ वडा भएको नगरमा ३० हजार ६ सय १८ मतदाता छन् । कर्माचार्य २०४३ सालमा भएको नगर पञ्चायतको चुनावमा प्रधानपञ्चमा विजयी भएका थिए, त्यो पनि कांग्रेसको उम्मेदवारका रूपमा ।

जनपक्षीय उम्मेदवारका रूपमा प्रधानपञ्चमा विजयी कर्माचार्य ०४६ सालमा बहुदल पुनर्बहाली हुँदासम्म तीन वर्ष पदमा बहाल रहे । बस्नेत भने ०५४ देखि ०५९ जेठसम्म ५ वर्ष प्रमुख थिए।  अर्को संयोग के पनि छ भने यी दुवै जिल्लामा आफ्नो पार्टीका प्रमुख हुन् । कर्माचार्य कांग्रेसका जिल्ला सभापति छन् भने बस्नेत एमालेका जिल्ला सचिव। कर्माचार्य पछिल्लो संविधानसभाको निर्वाचनमा एमाले नेता झलनाथ खनालसँग हारेका नेता हुन् ।

इलाम एमालेका दुई हस्ती पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख सुवास नेम्वाङ तथा कांग्रेसका पूर्वमहामन्त्री केबी गुरुङको गृहजिल्ला हो । जिल्लाका ४ नगर र ६ गाउँपालिकासहित सबै स्थानीय तहमा एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा छ । माओवादी केन्द्रले यहाँका स्थानीय तहमा एमाले र कांग्रेसलाई टक्कर दिन कडा मिहिनेत गरिरहेको छ ।

दुवै संविधानसभा चुनावमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले यस पटकको निर्वाचनमा आफ्नो पक्षमा जबर्जस्त माहोल बनाउन भरमग्दुर प्रयास गरिरहेको छ । एमालेका दुवै नेता खनाल र नेम्वाङले जिल्लाका सबै स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन घरदैलो अभियानमा संलग्न हुनुका साथै चुनावी सभालाई सम्बोधन गरिरहेका छन् ।

कांग्रेसका पूर्वमहामन्त्री गुरुङ भने उमेर र शारीरिक अस्वस्थताका कारणले जिल्लामा आएर आफ्नो पार्टीका उम्मेदवारका पक्षमा सक्रिय हुन सकिरहेका छैनन् । कांग्रेस र माओवादी केन्द्रले समेत केन्द्रबाट ठूला नेता ल्याएर आ–आफ्नो पार्टीको पक्षमा चुनावी माहोल बनाउने कसरत गरिरहेका छन् ।

०४८ देखि ०५४ सम्म भएका संसदीय, संविधानसभा सदस्य र स्थानीय चुनावमा बराबरीजस्तो जित हात पारेका छन्। कडा टक्करमा कहिले एमालेले बढी सिट त, कहिले कांग्रेसले । पछिल्लो संविधानसभा चुनावमा २ सिट एमाले र एक सिट कांग्रेसले जितेको थियो । पछिल्लो संविधानसभा चुनावमा इलाम नगरमा कांग्रेसले बढी मत ल्याएको थियो ।

पछिल्लो मतका आधारमा कर्माचार्य नगरमा प्रभावशाली मानिन्छन् । तर, उम्मेदवारी चयनमा कांग्रेसभित्र असन्तुष्टि देखिएकाले कर्माचार्यले पार्टीमा सबैलाई समेट्न अहोरात्र खटिरहनुपरेको छ । फेरि कर्माचार्य आफ्नो राजनीतिक भविष्य नै दाउमा राखेर प्रमुखको चुनावमा होमिएका हुन् ।

कर्माचार्यले झन्डै दुई वर्षअघि भएको पार्टी अधिवेशनमा कांग्रेसका भेषराज आचार्यसहित ५ हस्तीलाई जिल्ला पार्टी सभापतिमा हराएका थिए । पार्टीभित्रको त्यो हारजितको तुष र तिक्तता अझै छ । पार्टी सभापतिको हैसियतले कर्माचार्यले कसैसित सल्लाह र छलफलसमेत नगरी प्रमुखमा आफ्नो उम्मेदवारी आफैंले घोषणा गरेका कारण पनि कांग्रेसभित्र असन्तुष्टि बढेको हो । याे खबर कान्तिपुर दैनिकमा छ ।

shares