September 25, 2017

४५ जना भारतीय मजदुरको सप्तरी जिल्ला प्रहरीद्वारा उद्धार

दिनेश शर्मा/ राजविराज, १० असार । सप्तरीको डाकनेश्वरी नगरपालिका ८ स्थित ईट्टाभट्टामा बन्धक बनाई श्रममा लगाइएका ४५ जना भारतीय मजदुरको सप्तरी जिल्ला प्रहरीले उद्धार गरेको छ ।

भारतको अंचलाधिकारी सह–प्रखण्ड विकास पदाधीकारी वारिसलीगंजको पत्राचारपछि जिल्ला प्रशासन कार्यालय सप्तरीको पहलमा उनीहरुको उद्धार गरिएको हो । प्रहरीका अनुसार वारिसलीगंज स्थित सौर ग्रामका ४५ जना मजदुरहरुलाई भारतकै नावदा जिल्ला निवासी ठेकेदार बिनोद रामले १ वर्षअघि डाक्नेश्वरी न.पा–८ स्थित विडिआर ईटा भट्टामा ल्याएर छोडेका थिए ।

मजदुरहरुका अनुसार उनीहरुलाई कोलकत्ता स्थित चिमनी भट्टामा काम लगाई दिन्छु भन्दै सप्तरी ल्याईएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भीक छानविनका क्रममा ठेकेदार विनोदले भट्टा मालिकसँग लाखौं रुपैयाँ लिएर मजदुरलाई अलपत्र अवस्थामा छोडेर हिडेका थिए ।

भट्टा मालिकले भने ठेकेदार नआउन्जेल जान नदिने भन्दै काममा लगाउँदै आएको जानकारीका आधारमा भारतीय सुरक्षा अधिकारीले पत्राचार गरेपछि उनीहरुको उद्धार गरिएको सप्तरीका डिएसपी यादवराज उप्रेतीले जानकारी दिए । सुरक्षा वेश क्याम्प पथ्थरगडाबाट प्रहरी टोली पठाई ईटाभट्टामा रहेका सवै मजदुरको उद्दार गरेर भारतको श्रम अधिकक्ष कार्यालय सुपौलको जिम्मा लगाईएको डिएसपी उप्रेतीले बताए ।