September 25, 2017

कतारी ऊँटलाई साउदीमा नाकाबन्दी, नेपाली गोठाला सास्तिमा

काठमाण्‍डाै,१० असार । साउदी अरब र कतारको सीमा आबु सम्राहबाट २ सय ५० किमि टाढा पर्छ, अल होफुफ साउदीको निकै पुरानो बजार अल होफुफमा कतारीको बाक्लो आवतजावत हुन्थ्यो ।

त्यससँगै जोडिएको विशाल मरुभूमिमा कतारी नागरिकको उँट र बाख्राका सयौं गोठ छन् । उँट र बाख्रालाई दाना, औषधि, घाँस, पानीलगायत बन्दोबस्तीका सामान खरिद गर्न आउने मुख्य स्थल अल होफुफ हो । भोजपुरका ३७ वर्षीय अर्जुन राई अल होफुफबाट झन्डै सय किलोमिटर टाढा मरुभूमिमा बस्न थालेको ७ वर्ष भयो।

खासमा उनी काम गर्न कतार पुगेका थिए । कतारी साहू मोहम्मद मर्रीले साउँदीमा उँट हेर्न लगेपछि उनी त्यतै बस्त थाले । जसोतसो जिन्दगी चलिरहेका बेला कतारमाथि नाकाबन्दी भयो । त्यही कारण उनले एक साता यता कल्पनै नगरेको कष्ट सहनु परयो।

कतारी निकायका अनुसार साउदीले दुई दिनमा १२ हजार उँट, ५ हजार भेडा सयभन्दा बढी गोठाला डिपोर्ट गरेको छ ।कतार उँट एसोसिएसनले कतारी नागरिकको साउदीका विभिन्न स्थानमा १ लाख ५० हजारभन्दा बढी उँट रहेको जनाएको छ । कतारी भिसा भएका गोठालालाई ऊँट हेर्न मालिकले सँगै लिएर जान पाउने सुविधा दिएको थियो ।

कतारीले साउदी लानेबेलामा नेपाली दूतावाससँग अनुमति लिने गरेको छैन् । नेपाली दूतावासले आफ्ना नागरिकलाई कतारबाट साउदीमा ऊँट, बाख्रा र मजरामा काम गर्न लैजाने बेला अनुमति वा जानकारी दिनुपर्ने विषयमा कतारी निकायसँग चासो राखेको छैन् । याे खबर कान्तिपुर  दैनिकमा छ ।