त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र उद्धारको अभ्यास गरियाे

काठमाण्डौ, ९ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनाका बेला हुने उद्धारको अभ्यास गरिएको छ ।

शुक्रबार दिउँसो साढे ४ बजेदेखि आधा घण्टाका लागि विमानस्थल बन्द गरेर अभ्यास गरिएको हो । अभ्यासका क्रममा एउटा विमानमा कृत्रिम रुपमा आगो लगाएर त्यसमा रहेका चालक दलसहित यात्रुलाई उद्धार गरिएको विमानस्थल कार्यालय महाप्रबन्धक देभावन्द उपाध्यायले जानकारी दिए ।

विमानमा आगो लागेपछि त्यहाँभित्र रहेका १ सय ८० जनाको कसरी उद्धार गर्ने भनेर संकटकालीन योजनासम्बन्धी पूर्णकालीन अभ्यास गरिएको हो । अभ्यासको क्रममा एक जनालाई दुर्घटनाग्रस्त विमानबाट निकालेर हेलिकोप्टरबाट काठमाण्डौको ग्राण्डी अस्पतालसम्म पुर्‍याइएको थियो । अभ्यासका क्रममा विमानस्थलमा काठमाण्डौ, ललितपुर र भक्तपुरका दमकल, सुरक्षाकर्मी र एम्बुलेन्सको प्रयोग गरिएको थियो ।

अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन आइकाओ प्रावधान अनुसार हरेक २–२ वर्षमा गर्नुपर्ने विमानस्थलभित्रको हवाई सुरक्षा व्यवस्थासम्बन्धी अभ्यासका क्रममा त्रिभुवन विमानस्थलमा अभ्यास गरिएको महाप्रबन्धक देभावन्द उपाध्यायले बताए ।