September 25, 2017

सत्तापक्षले नै आचारसंहिताको उल्लंघन गरेको एमाले भातृ संगठन युवासंघको आरोप

काठमाण्डौ, ९ असार । नेकपा एमालेको भातृ संगठन युवासंघ नेपालले सत्तापक्षले राज्यशक्तिको दुरुपयोग गर्दै निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको आरोप लगाएको छ ।

शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै युवा संघ नेपालले सरकारका मन्त्रीहरुले नै निर्वाचन आचारसंहिता उल्लंघन गर्दै विधिको शासन, कानूनी राज्यको धज्जी उडाउने कार्य गरेको आरोप लगाएको हो । त्यस्तै निर्वाचनको प्रचार प्रसारका क्रममा मुलुकका विभिन्न स्थानमा एमाले कार्यकतामाथि नियोजित रुपमा आक्रमण भइरहेको भन्दै यो क्रम नरोकिए प्रतिकारमा उत्रने चेतावनी पनि संगठनले दिएको छ ।

पत्रकार सम्मेलनमा युवा संघ नेपालका केन्द्रिय अध्यक्ष राजीव पहारीले बाजुरा, रोल्पा, गुल्मी लगायतका क्षेत्रमा युवासंघ नेपालका कार्यकर्तामाथि आक्रमण भएको दाबी गरे । उनले बाँकेमा गृहमन्त्री स्वयं निर्वाचन आचारसंहिता विपरीत रातीको समयमा चुनावी प्रसारमा सहभागी भएको भन्दै आपत्ती जनाए । साथै पहारीले आफ्नो संगठनले विभिन्न माग राखेर सरकारलाई ज्ञापन पत्र बुझाउन समयमा माग्दा पनि नदिएको गुनासो पोखे ।

युवासंघ नेपालले कैलाली टिकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई सरकारले आगजागी पीडितलाई राहत दिने शीर्षक अन्तर्गत करौडौं रुपैयाँ दिएको भन्दै तत्काल रकम फिर्ता गर्न पनि माग गरेको छ । त्यस्तै निर्वाचन आचारसंहिता विपरीत कांग्रेस र माओवादी केन्द्रले द्वन्दपिडित, मृतक, विस्थापित, वेपत्ता परिवार प्रत्येकलाई रु ५ लाख दिने निर्णय गरेको भन्दै निर्वाचनलाई प्रभावित पार्ने गरी गरिएको निर्णय तत्काल खारेज गर्न समेत माग गरेको छ ।