हीरक जयन्ती सम्मानबाट ५ स्रष्टा सम्मानित, कविता महाेत्सवमा खाेटाङे कवि रानाहँछा प्रथम

काठमाण्डौ, ९ असार । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा तथा साहित्यको उत्थानमा उल्लेखनीय योगदान पुर्‍याए बापत् ५ जना स्रष्टालाई हीरक जयन्ती सम्मानबाट सम्मानित गरेको छ ।

प्रतिष्ठानको ६० औँ जन्मजयन्तीका अवसरमा शुक्रबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा स्रष्टाहरुलार्ई सो सम्मानबाट सम्मानित गरिएको हो । सम्मानित हुनेहरुमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपतिद्वय मदनमणि दीक्षित र वासुदेव त्रिपाठी छन् ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले स्रष्टाहरुलाई सम्मान गर्दै नेपाली भाषा तथा साहित्यको उन्नयनमा सम्मानित व्यक्तित्वहरुको ठूलो योगदान रहेको बताए ।

कार्यक्रममा प्रतिष्ठानमा २० वर्ष सेवा अवधि पूरा गरेका गिता राई, भरत सुवेदी, जहरसिंह खड्का, शिवनारायण महर्जन र सावित्री नेपालीलाई पदक तथा रु २५ हजार नगदसहित सम्मान गरिएको छ । याेसँगै खाेटाङका कवि चन्द्र रानाहँछा राष्ट्रिय कविता महाेत्सव २०७४ मा ‘अाँधीकाे यात्रा’ काे साथ प्रथम भएका छन् ।