Breaking News

देउरानी–जेठानीबीच भीडन्त

शिवलाल सुवेदी / गुल्मी, ९ असार । सँगै जोडिएका दुई घरहरु छन् । गुल्मीको सदरमुकाम तम्घासको पुतली बजारमा जोडिएका ओल्लो घरमा एमालेको झण्डा फर्फराई रहेको छ भने पल्लो घरमा कांग्रेसको झण्डा फर्फराएको छ । नजिकै जिल्ला पार्टी कार्यालय वरपर माओवादी केन्द्रको झण्डा फर्फराएको छ ।

तीन पार्टीका झण्डाहरुका बीचमा एकै परिवारका जेठानी देउरानी एउटै पदका लागि दुई अलग अलग पार्टीबाट चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । बिहान चिया पिउने बेलामा र कौशीमा कपडा सुकाउने बेलामा ती जेठानी, देउरानीबीच पारिवारिक गफ चल्छ तर दिनभरी एक अर्का पार्टी विरुद्ध घर दैलोमा व्यस्त हुन्छन्, उनीहरु ।

यो गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १ को महिला सदस्यबीचको रोचक चुनावी भीडन्त हो । उक्त वडामा नेपाली कांग्रेसबाट एउटै घरकी जेठानी दिदी लक्ष्मी पाण्डेलाई नेपाली कांग्रेसले महिला सदस्यको उमेदवार उठाएको छ भने नेकपा एमालेले सोही पदका लागि उनकी देउरानी गीता पाण्डेलाई उठाएको छ । दुबै जेठानी देउरानीहरु आफूले जित्ने दाबी गर्दै नजिकका आफन्तहरुलाई अग्रिम शुभकामना दिन आग्रह गर्दै आएका छन् ।

जेठानी दिदीका श्रीमान् रामप्रसाद पाण्डे सोझा सर्वसाधरण व्यक्ति मात्र हुन् । उनलाई चुनावी चहल पहल मतलब छैन । उनी श्रीमतिको ठाउँमा ‘हाउस वाईफ’ घरेलु कामदार जस्तै भएर बसेका हुन्छन् । उता देउरानीका श्रीमान् पदम पाण्डे अध्यापन पेशामा छन् । अरु शिक्षकहरु चुनावी प्रचारप्रसारमा व्यस्त भएको देखिए पनि पाण्डे भने अध्यापन पेशामै व्यस्त छन् ।

तर उनिहरुका श्रीमतिहरुलाई बिहान चिया पकाउने र पिउने फुर्सद समेत छैन । हात जोड्दै,  मत माग्दै घर दैलोमा हिँडेका छन् उनिहरु । ‘सुरुमा दिदी कांग्रेसबाट उपमेयरमा उठ्ने चर्चा भए पछि मैले दिदीलाई भोट हाल्छु भन्ने ठानेर म सदस्यमा एमालेबाट उठेकी हुँ ।’ गीताले भनिन्, ‘दिदीले उपमेयर नपाएर एउटै पदमा भीड्नु परेको हो, यसले पारिवारिक सम्वन्धमा कुनै असर पारेको छैन् ।’

जेठानी दिदी लक्ष्मीले पनि पारिवारिक सम्बन्धमा कुनै असर नपारेको बताइन् । हामी जेठानी दिदी र बहिनीविरुद्ध जनतामा पुगेका छैंनौ लक्ष्मीले भनिन्, ‘कांग्रेस र एमाले पार्टी पक्ष र विपक्षमा मात्र उत्रेका हौं ।’

shares