October 17, 2017

बारामा प्रहरी र तस्करबीच झडप, प्रहरीको राईफल लुटियो

उमेश दुबे/ बारा, ११ बैशाख । नेपाल भित्रिएको अवैध सुर्ति र कपडा नियन्त्रणमा लिन खोज्दा बारामा प्रहरी र तस्कर बिच झडप भएको छ ।

बाराको मुल नाका भनेर चिनिने मटीअर्वा नाका हुँदै नेपाल भित्रिएको अवैध सुर्ति र कपडा नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी हवलदार बिनोद पाशवानको कमाण्डमा खटिएको प्रहरी हवलदार केश मसरुल, प्रहरी जवान जग मोहन राउत र प्रहरी जवान चन्द्र शेखर सिंहको टोलीले अवैध रुपमा भित्रिएको कपडा र सुर्ति नियन्त्रणमा लिन खोज्दा झडप भएको छ । यस बिषयमा मध्यक्षेत्रिय प्रहरी कार्यालय हेटौडाका डिअाईजी गणेश केसीले तस्करहरुले प्रहरी माथि आक्रमण गरी राईफल समेत खोसी लगेको बताएका छन् ।

बाराको धर्मनगरमा अवैध मालसमान नियन्त्रण गर्ने बेला तस्करहरुको समुहले प्रहरी माथि एक्कासी रड प्रहार गरी ४ जना प्रहरीलाई घाइते बनाई एक थान रायफल लुटी फरार भएको बताए ।

यता तस्करीमा सँलग्नहरुले भने जनाए जिल्ला प्रहरी कार्यालय बाराबाट रकम असुली गर्दै हिडेका प्रहरीहरुलाई २ दिन अगावै महिनावारी दिएपनि प्रहरीले मालसमान पक्राउ गर्न थालेपछि झडप भएको बताएका छन् ।