November 18, 2017

आयोगका सचिवको सरुवा स्वभाविक भएको प्रमुख आयुक्त यादवको जोड

काठमाण्डौ, ९ असार । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले निर्वाचनको ५ दिन अघि भएको आयोगका सचिवको सरुवालाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन् ।

रिपोटर्स क्लब नेपालमा शुक्रबार भएको साक्षात्कारमा निर्वाचन आचारसंहिता जारी भएपछि अन्य सरकारी निकायलाई सरुवा, बढुवा मात्र नभएर नियुक्ति समेत रोकेका प्रमुख आयुक्त यादवले मतदान हुनु पाँच दिनअघि भएको सरुवालाई भने स्वभाविक रुपमा लिएको बताएका हुन् ।

प्रमुख आयुक्त यादवले सचिव सरुवा आयोगले नभएर नेपाल सरकारले गर्ने भन्दै निर्वाचन आयोगको संलग्नता नरहेको समेत स्पष्ट पारे । उनले सचिवको सरुवा भए पनि निर्वाचनका लागि आवश्यक कार्य आयोगले बढाइरहेको जानकारी दिए ।

निर्वाचनको सम्पूर्ण तयारी भइसकेको र सुक्ष्मरुपले आचारसंहिताको अनुगमन समेत भइरहेको बताउँदै यादवले निर्वाचनमा सक्रिय रुपमा सहभागिता जनाउन आग्रह समेत गरे ।