November 19, 2017

थबाङ ३६ वर्षपछि पहिलोपटक बहुदलीय प्रतिस्पर्धामा

रोल्पा, ९ असार । देशभर स्थानीय निर्वाचन बहिष्कारमा उत्रिएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो ‘आधार इलाका’ थबाङलाई पनि निर्वाचनविरुद्ध होम्न ठूलै प्रयास गर्‍यो । तर, स्थानीयले गाउँको नेता आफैं चुन्न सक्ने गरी दुई दशकपछि आएको अवसर खेर फाल्न चाहेनन् ।

निर्वाचनमै जाने अडान कसी त्यसका लागि नेकपाको स्थानीय संगठनलाई दबाब दिए । अन्तत: पार्टीकै स्थानीय नेताहरु स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा होमिएका छन् । बहिष्कारमा मनाउन लामो प्रयास गरेका थबाङी नेता सन्तोष बुढामगर निराश भएर रुकुमतिर लागे । नेकपानिकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सदस्य अमित घर्ती मगर गाउँपालिका अध्यक्षमा लडै छन् ।

उनी दिनरात गाउँबासीका साथ चुनाव प्रचारमा खटिइरहेका छन् । निर्वाचन बहिष्कार गर्दा गलत व्यक्ति शक्तिमा आउने सम्भावना भएकाले पार्टी नीतिविपरीत स्वतन्त्र रूपमा उम्मेदवारी दिएको घर्तीले बताए । ‘हामीले छोडिदिंदा भ्रष्ट नेताहरु शक्तिमा आउँछन् । तिनलाई परास्त गर्न चुनावमा होमिएका हौं,’ उनले भने, ‘युद्धकालदेखि नै यहाँका जनताको सुखदु:खमा सँगै रह्यौं । अहिले अधिकांश जनताले चुनावमा जानैपर्ने मनसाय राखेकाले प्रतिस्पर्धा गर्न तयार भयौं ।’

आफू अहिले पार्टीको कुनै पनि सम्पर्कमा नरहेको र कारबाही गरे भोग्न तयार रहेको घर्तीले बताए । साढे तीन दशकयता स्थानीय स्तरका हरेक निर्णयमा एकजुट रहँदै आएका थबाङबासी यसपालि पनि चुनावका लागि एक भएका छन् । २०३८ सालदेखिको ‘कम्युनिस्ट गढ’ को परिचय खुकुलो बनाउँदै थबाङले दलीय रुपमा पनि विविधता अँगालिसकेको छ । ३६ बर्षपछि पहिलोपटक कांग्रेस र एमालेले यहाँ पार्टी कार्यालय स्थापना गरेका छन् ।

पहिलोपटक थबाङमा ठूलो चारतारे झन्डा फहराएको छ । एमाले पनि संगठन विस्तार गरी चुनावी स्पर्धामा होमिएको छ । माओवादी फुटपछि पहिले मोहन बैद्य र पछि चन्दले ‘कब्जा’ गरेको गाउँ अब उनीहरुको मात्र नियन्त्रणमा रहेन । माओवादी केन्द्र पनि यहाँ चन्दको प्रभुत्व बढ्न नदिन शक्ति परिचालन गरिरहेको छ । नेकपा त्यसलाई प्रतिकार गर्ने योजनामा छ । याे खबर कान्तिपुर दैनिकमा छ ।