September 25, 2017

बाहिरी चक्रपथ बनाउन चिनियाँ कम्पनी इच्छुक , २ सय घर तत्काल भत्किने

काठमाण्डाै,९ असार । काठमाण्डाै उपत्यकाको बाहिरी चक्रपथ बनाउन चिनियाँ कम्पनीले रुचि देखाएको छ ।

चिनियाँ कम्पनी चाइना ह्युम्यानिटिज डिप्लोमेटिक प्रमोसन एसोसिएसन र चाइना न्युक्लियर इन्जिनियरिङ एन्ड कन्ट्रक्सन ग्रुप कर्पोरेसनको संयुक्त लगानीको कम्पनीले बाहिरी चक्रपथ निर्माण गर्ने इच्छा देखाएको हो। एसोसिएसनले सहरी विकास मन्त्रालय र उपत्यका विकास प्राधिकरणमा बाहिरी चक्रपथ निर्माण योजनाको आशयपत्र पेस गरेको छ ।

आशपत्रमा कम्पनीले ७० प्रतिशत अनुदान र ३० प्रतिशत ऋणमा बाहिरी चक्रपथ निर्माण गर्ने उल्लेख गरिएको काठमाण्डौ उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए । उनका अनुसार यो चिनियाँ टोलीले भेटेरै आशयपत्र दिएको छ । चिनियाँ सरकारकै रुचिअनुसार यो आयोजना निर्माण गर्न आशयपत्र पेस भएको छ ।

सिधै चिनियाँ कम्पनीलाई प्राधिकरणले निर्माणको जिम्मा दिन नमिल्ने भएकाले सहरी विकास मन्त्रालयमार्फत आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको तिवारीले जानकारी दिए । ‘बाहिरी चक्रपथ चिनियाँ कम्पनी बनाउन तयार छ भने हामी जग्गा खाली गरेर दिन तयार छौं’, तिवारीले भने । यो आयोजनाको निर्माण गर्न दिने विषयमा नेपाल र चीन सरकारबीच सम्झौता हुनुपर्ने र सरकारी निर्णयले सोही कम्पनीलाई दिन सक्ने जानकारी पनि तिवारीले दिए ।

यो आयोजना चीनले बनायो भने समयमा नै बन्ने, गुणस्तरीय हुने र सरकारी रकम पनि खर्च नहुने भएकोले उपयुक्त प्रस्ताव आएको प्राधिकरणको भनाइ छ । यो आयोजनाको पहिलो खण्डका लागि जग्गा अधिकरण गर्ने तयारी अन्तिम चरणमा छ । यस विषयमा दुई – तीन दिनभित्रमै सूचना प्रकाशन गर्न लागिएको आयोजनाका शाखा अधिकृत ध्रुवप्रसाद सापकोटाले जानकारी दिए। चिनियाँ कम्पनीको प्रस्ताव आउनु र हामीले पनि निर्माणमा जाने अन्तिम तयारी गर्नु संयोग नै भएको छ ।

दुई सयवटा घर तत्कालै भत्कने बाहिरी चक्रपथको पहिलो खण्ड निर्माणका लागि करिब दुई सयवटा घर भत्कने भएका छन् । आयोजनाका अधिकृत सापकोटाले दिएको जानकारी अनुसार १५/२० लाखदेखि डेढ करोडसम्मका घर भत्कने भएका छन् । यी घरका लागि सरकारले उचित क्षतिपूर्ति दिएर मुख्य बाटोमा परेको घर भत्काउने भएको छ ।याे  खबर अन्नपूर्ण पोस्टमा छ ।