पूर्व खेलाडी तथा एन्फाका पूर्वमहासचिव लोकबहादुर शाही पक्राउ

काठमाण्डौ, ८ असार । पूर्व नेपाली राष्ट्रिय फुटबल खेलाडी तथा एन्फाका पूर्वमहासचिव लोकबहादुर शाही पक्राउ परेका छन् ।

शाहीलाई महानगरीय अपराध महाशाखाको टोलीले आज टोखाबाट पक्राउ गरेको हो । २५ युवालाई विदेश पठाउने बहानामा १ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा शाहीलाई अनुसन्धानका लागि ३ दिन हिरासतमा राखिने अपराध महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्यले बताए । क्यानडामा हुने मैत्रीपूर्ण खेलमा पठाइदिने आश्वासनमा पैसा उठाएर लामो समय भइसक्दा पनि केही नभए पछि पीडित ९ जनाले महानगरीय अपराध महाशाखा टेकुमा उजुरी गरेका थिए ।

सन् १९८४ मा भएको साफ गेममा नेपालले स्वर्ण जित्दा शाही नेपाली टोलीका गोलकिपर थिए । दश वर्ष राष्ट्रिय टोलीको गोलकिपर रहेका शाहीले अखिल नेपाल फुटबल संघमा दश वर्ष महासचिवको जिम्मेवारी पनि निभाएका थिए ।