September 20, 2017

काठमाण्डौ–निजगढ द्रूतमार्ग ‘फास्ट ट्रयाक्’ को कार्यविधि पारित

काठमाण्डौ, ८ असार । सरकारले तराई–मधेस जोड्ने बहुचर्चित काठमाण्डौ–निजगढ द्रूतमार्ग ‘फास्ट ट्रयाक्’ को कार्यविधि पारित गरेको छ ।

सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठकले निर्धारित समयमै आयोजना पूरा गर्नका लागि भन्दै कार्यविधिलाई अन्तिम रूप दिएको हो । द्रूतमार्ग निर्माणको जिम्मा सेनालाई दिएको सरकारले छिटो काम पूरा गर्नका लागि तयार कार्यविधिलाई स्वीकृत गरेको अर्थमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

९ वर्षदेखि अवरुद्ध रहेको राष्ट्रिय गौरवको ७६ किमि लामो द्रूत मार्गको केही समयअघि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेका थिए । द्रूतमार्ग निर्माण गर्न १ खर्ब रुपैयाँ लाग्ने अनुमान छ । मन्त्रिपरिषद् बैठकले एडीबीको १ सय ५० मिलियन डलर ऋण प्राप्त गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।

साथै मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयका सहसचिव किरण रेग्मीलाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ । बैठकले विशेष अदालतको सदस्यमा बाबुराम रेग्मीलाई नियुक्त गरेको छ ।