August 23, 2017

पञ्जाबले गुजरातलाई २६ रनले हरायो, दोस्रो खेलमा टस जितेर बैंग्लोर बलिङ गर्दै

काठमाण्डौ, १० वैशाख । आईपिएल अन्तर्गत आज भएको पहिलो खेलमा किंग्स एलाभेन पञ्जाबले गुजरात लायन्सलाई २६ रनले हराएको छ ।

टस हारेर ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । उसका लागि हसिम अमलाले ६५ रन बनाए भने त्यस्तै सन मार्श र कप्तान ग्लेन म्याक्सवेलले क्रमशः ३० र ३१ रन बनाए । गुजरातका लागि एन्ड्रिउ टायले २ विकेट लिए । त्यस्तै शुभम् अग्रवाल, नाथु सिंह, सुरेश रैना, रविन्द्र जडेजा र ड्वेन स्मिथले समान १–१ विकेट लिए ।

१ सय ८९ रनकाे लक्ष्य पछ्याएर ब्याटिङ गरेको गुजरातले पूरै ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ६२ रनमात्र बनाउन सक्यो । उसका लागि विकेटकिपर दिनेश कार्तिकले ५८ रन र सुरेश रैनाले ३२ रन बनाए पनि अरु ब्याट्सम्यान चल्न नसक्दा २६ रनले पराजित भएको हो । पञ्जाबका लागि सन्दिप शर्मा, अक्षर पटेल र केसी क्यारिअप्पाले समान २–२ विकेट लिए । त्यस्तै मोहित शर्माले पनि १ विकेट लिए ।

दोस्रो खेल अन्तर्गत अहिले कोलकात्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दैछन् । बैंग्लोरले टस जितेर बलिङ गरिरहेको छ ।