November 18, 2017

मतदाता शिक्षा कार्यक्रम प्रभावकारी भएको प्रमुख आयुक्त यादवको दाबी

काठमाण्डौ, ८ असार । प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले स्थानीय तहको दोश्रो निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी भएको दाबी गरेका छन् ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिले बिहीबार काठमाण्डौमा गरेको विशिष्ट / राष्ट्रिय पर्यवेक्षक अभिमुखीकरणको उद्घाटन गर्दै प्रमुख आयुक्त यादवले स्थानीय तहका दलका नेता, कार्यकता तथा आयोगबाट खटाइएका व्यक्तिहरुबाट प्रभावकारी रुपमा मतदाता शिक्षा प्रदान गरिएको दाबी गरे । पहिलो निर्वाचनमा ७० भन्दा बढि प्रतिशत मत खसेको बताउँदै यादवले अबको निर्वाचनमा त्यो भन्दा बढि मत खस्ने बताए ।

साथै प्रमुख आयुक्त यादवले माघ भित्र सम्पन्न गर्नुपर्ने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि पनि सरकारले छिटो भन्दा छिटो कानून निर्माण गरेर आयोगलाई दिनुपर्ने भन्दै तोकिएको समयमा नै सबै निर्वाचन गर्न आयोग तत्पर रहेको धारणा राखे । निर्वाचनलाई सफल बनाउनका लागि विभिन्न स्थानमा पर्यवेक्षण सुरु भइसकेको समेत यादवले जानकारी दिए ।