November 17, 2017

ट्याक्सी थप्ने कार्यकाे काठमाण्डौ महानगरपालिकाले गर्‍याे विरोध

काठमाण्डौ, ८ असार । काठमाण्डौ महानगरपालिकाले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका पीडितलाई काठमाण्डौ उपत्यकाभित्र गुडाउन दिनेगरी १ हजार ५ सयवटा ट्याक्सी थप्ने निर्णयको विरोध गरेको छ ।

उपत्यकामा बढ्दो ट्राफिक जाम, प्रदूषण, पार्किङ क्षेत्रको अभावले अहिले नै सवारीसाधन व्यवस्थापन गर्न गाह्रो भइरहेको र ट्याक्सी थपे झन् समस्या बढ्ने महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । महानगरपालिका सहरी क्षेत्रमा सर्वसुलभ ठूला यात्रु बस सञ्चालन गर्ने नीति तथा कार्यक्रम अडिग छ’, उनले भने ।

बुधबार संसद्को आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा प्रमुख शाक्यले यातायात व्यवस्था विभागले रुट अनुमति दिए एक सय ठूला बस तत्काल सञ्चालनामा ल्याउन तयार रहेको जानकारी दिए । ‘महानगरवासीलाई यात्रा गर्न ठूला यात्रुबस सञ्चालनका लागि तयारी गरेका छौं’, उनले भने ।

महानगरपालिकाको बैठकले उपत्यकामा थप ट्याक्सी सञ्चालन गर्ने निर्णय पुनर्विचार गर्नुपर्ने बताएको छ । त्यस्तै उपत्यकामा सञ्चालित भाडाको ट्याक्सीहरूको कडा नियमन गर्न यातायात व्यवस्था विभाग र उपत्यका ट्राफिक महाशाखालाई अनुरोध गर्ने निर्णय गरेको छ । याे खबर नयाँ पत्रिका दैनिकमा छ ।