सरकारी गाडीकाे दुरूपयोगः सयौ सरकारी गाडीमा रातो नम्बर प्लेट

काठमाण्डाै, ८ असार । सुरक्षाको कारण देखाउँदै सयौ सरकारी गाडी रातो (निजी) नम्बर प्लेट राखेर चलाउने गरेको पाइएको छ ।

यसरी निजी नम्बर प्रलेट राखेर सञ्चालन भएका सरकारी गाडीको सदुपयोग या दुरूपयोग के भएको छ भन्नेबारे कुनै निकायले अनुगमन गरेको छैन । गृह मन्त्रालयले दुई वर्ष यता २ सय भन्दा बढी गाडीलाई निजी नम्बर प्लेट राखेर सञ्चालन गर्न अनुमति दिएको छ ।

संवैधानिक निकाय तथा प्राय सबै मन्त्रालयका उच्च अधिकारीले रातो नम्बर प्लेट प्रयोग गरेका छन् । सुरक्षा खतरा छ वा छैन भन्नेबारे अध्ययन नगरी गृहले निजी नम्बर प्लेट दिएको स्रोतले बताएको छ । द्वन्द्वकालमा सरकारका उच्च अधिकरीलाई सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर प्रयोग गर्न दिने गरिएको थियो ।

शान्ति स्थापना भइ संविधान निर्माण भइसकेको अवस्थामा पनि सरकारी अधिकारीले निजी नम्बर प्लेट राखेर गाडी चलाउन छाडेका छैनन् । अहिले पनि निजी नम्बर प्लेट माग गर्दै निवेदन दिनेको संख्या सय भन्दा बढी रहेको गृह स्रोतले जानकारी दिएको छ । यो खबर नागरिक दैनिकमा छ ।