September 23, 2017

एमाले वडाध्यक्षको घरमा सुतली बम बिष्फोट

दिलीप खत्री/ खोटाङ, ७ असार । अज्ञात समुहले खोटाङमा एमाले वडाध्यक्षको घरमा सुतली बम बिष्फोट गराएको छ ।

रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षका उम्मेद्वार लिला चौहानको घरमा मंगलबार राती बम बिष्फोट गराएको हो । बिष्फोटमा वडाध्यक्षका प्रत्यासी चौहानकी बुहारी शकुन्तला चौहान घाईते भएका छन् । उनको दुबै खुट्टा डढ्नुका साथै चोट लागेको छ । दाहिने खुट्टाको फिलामा समेत चोट लागेको उम्मेद्वार चौहानका भतिज दानबहादुर चौहानले बताए ।

पहिलोपल्ट हानिएको बम बिष्फोट नभएपछि तत्काल अर्को बम हानिएको थियो । पहिलो बम नपड्केपछि भाग्दाभाग्दै अर्को बम हानिएको जानकारी आएको एमाले खोटाङका अध्यक्ष बबी चाम्लिङले बताए ।  चौहान परिवारका अनुशार अपरिचित दुई युवकले स्थानीय कृष्ण खत्रीको घर सोधेर गएको आघा घण्टापछि बम बिष्फोट भएको हो । बिष्फोटका बेलामा उम्मेद्वार चौहानकी आमा भने घरको माथिल्लो तलामा सुतीरहेकी थिईन् ।

प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले भने किचन नजिक सुतली बम बिष्फोट गराइएको बताए ।’ बिष्फोट नभएको सुतली बम निष्क्रिय पार्नका लागि दिक्तेलस्थित नेपाली सेनाको बिस्फोजल टोली बुधबार बिहान घट्नास्थल पुगेको छ । नेपाल प्रहरीको टोली भने मंगलबार राती नै पुगेको थियो ।

उम्मेद्वारको घरमा विष्फोट भएपछि नेता तथा कार्यकर्ता आतंकित भएका छन् । विष्फोटमा संलग्नको अज्ञात समुहकाे पहिचान हुन सकेको छैन । एमालेले निर्वाचनमा होमिएका आफ्नो नेता तथा कार्यकर्तालाई हतोत्साहित पार्नका लागि बिष्फोट गराइएको दाबी गरेको छ ।