November 19, 2017

सुरु भयो प्रहरीमा बढुवा

काठमाण्डाै, ७ असार । चार हजार बढी पद रिक्त हुँदा पनि बढुवा प्रक्रिया अगाडि नबढाउँदा आलोचित प्रहरी प्रशासनले बढुवा सिफारिस समितिलाई सक्रिय बनाएको छ ।

एआइजीदेखि जवानसम्म पद रिक्त भए पनि बढुवा समिति निक्रिय थियो । नयाँ कार्यमूल्यांकनको समय निकट आउँदा पनि बढुवा अगाडि नबढाउँदा गृह र प्रहरी प्रशासनको आलोचना भएको थियो । गृहमन्त्रीमा जनार्दन शर्मा आएपछि गत बुधबार उनले बढुवा अगाडि बढाउने बताएका थिए ।

उनले दाबी गरेको पाँच दिनपछि आइतबारदेखि तल्लो तहको बढुवा प्रक्रिया अगाडि बढेको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार असारभित्र सबै रिक्त पदमा बढुवा गर्ने योजनासहित प्रहरी हबलदार र असईको बढुवाका लागि फाइल उठिसकेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार संगठनमा चार सय ९७ हबल्दार र दुई सय ८७ सई पद रिक्त छ ।

जनपदतर्फ रिक्त  तीन सय ९० हबल्दार र दुई सय नौ सईमा बढुवाका लागि प्रक्रिया अगाडि बढेको हो । यी दुवै रिक्त पदमा सबै बढुवाबाटै पदपूर्ति हुने प्रावधान छ । प्रहरी जवान, असई र प्रहरी निरीक्षक भने आन्तरिक र खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने प्रावधान छ ।

‘अहिले जनपद समूहतर्फको रिक्त पदमा बढुवाका लागि पक्रिया सुरु भएको हो,’ स्रोतले भन्यो, ‘सम्भवतः मंगलबार सिफारिस सूची सार्वजनिक हुनेछ । यसपछि प्राविधिक र माथिल्लो तहको बढुवा अगाडि बढाउने रणनीति छ ।’

तल्लो तहबाट बढुवा

प्रहरी संगठनमा एआइजीदेखि प्रहरी जवानसम्म चार हजार तीन सय ३६ पद रिक्त भए पनि गृह मन्त्रालय र प्रधान कार्यालयले तल्लो तहबाट बढुवा प्रक्रिया सुरु गरेका हुन् ।

लामो विवादपछि संगठनले आइजिपी पाए पनि अदालतमा मुद्दा विचाराधीन छ । संगठनमा तीन एआइजी पद रिक्त छ । चार डिआइजी, १८ एसएसपी, १६ एसपी, ९१ डिएसपी र एक सय ११ प्रहरी निरीक्षक पद रिक्त छ । रिक्त संख्या प्राविधिक र जनपद समूहको हो ।

साउन ७ भित्र बढुवा प्रक्रिया नटुंग्याए नयाँ कार्यसम्पादनअनुसार बढुवा अगाडि बढाउनुपर्ने कानुनी बाध्यता छ । साउन ७ भित्र नटुंगिए बढुवा भदौ मसान्त पुग्ने भएपछि माथिल्लो तहबाट बढुवा प्रक्रिया अगाडि बढाउन दबाब बढेको थियो ।

गृहमन्त्री शर्माले आफ्नो सार्वजनिक भाषणमा संगठनको तल्लो तहका कर्मचारीको मनोबल उच्च राख्न जोड दिँदै आएका थिए । सोही प्राथमिकताअनुसार गृह र प्रहरी प्रशासनले तल्लो तहबाट बढुवा थालेको हो ।

आइजीपी नियुक्ति विवाद सर्वोच्च अदालतमा विचाराधीन रहँदा गृह र प्रधान कार्यालयले एआइजीमा बढुवा प्रक्रिया अगाडि बढाउन सकेको छैन । प्रहरीको प्रशासनिक संरचनाअनुसार एआइजीको सात पद भए पनि २०७१ मा सरकारले निर्णय गर्दै तीन पद कायम गराएको छ ।

प्रहरी नियमावलीको अवकाशको प्रावधान कायमै रहने हो भने डिआइजीको रिक्त चार पदमा जो बढुवा हुन्छन् भावी प्रहरी नेतृत्व उनीहरूबाटै चयन हुनेछ । आइजी मुद्दा टुंगिए एआइजीको सात पद कायम गरी एआइजी बनाउँदा डिआइजीमा रिक्त पद संख्या ११ पुग्छ ।

नियमावलीमा रहेको पदावधि, उमेर अवधि र सेवा अवधिका आधारमा अवकाशको प्रावधान संशोधन नभए अहिलेका आइजी प्रकाश अर्यालसहित उनको ब्याचका सबैले नौ महिनापछि अवकाश पाउनेछन्। भावी नेतृत्वका आकांक्षी अहिले एसएसपी पदमा कार्यरत छन् । यो खबर नागरिक दैनिकमा छ ।