चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण यही वर्ष

काठमाण्डौ, ७ असार । चिनियाँ सहायक विदेशमन्त्री कोङ् सोयानयुले सन् २०१७ भित्र चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुनखसक्ने संकेत गरेका छन् ।

मंगलबार परराष्ट्र मन्त्रालयमा आयोजित नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको एघारौं बैठकमा चिनियाँ सहायक विदेशमन्त्री सोयानयुले नेपालसँग उच्चस्तरीय भ्रमण आदानप्रदान बढाउन चीन इच्छुक रहेको बताएका हुन् । बैठकमा नेपाल–चीनबीचको राजनीतिक सम्बन्ध थप प्रगाढ बढाउने विषयमा धारणा आदान प्रदानका क्रममा चिनियाँ उच्च अधिकारीले उच्चस्तरीय भ्रमणको संकेत गरेका हुन् ।

‘चीनबाट निकट भविष्यमै राष्ट्रपति या प्रधानमन्त्री तहको नेपाल भ्रमण हुनसक्ने संकेत चिनियाँ पक्षको थियो’, भेटमा सहभागी परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने । बैठकमा उच्चस्तरीय भ्रमण आयोजनाका लागि वातावरण बनाउन अबका दिनमा दुई देशका परराष्ट्र मन्त्रालय नियमित सम्पर्कमा रहने सहमति भएको छ ।

सन् २०१६ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले नेपाल भ्रमण गर्न चाहे पनि यहाँ भएको सत्ता परिवर्तन र नेपालबाट यथोचित तयारी हुन नसकेका कारण भ्रमण रोकिएको थियो । ‘वातावरण बनाउन सके चिनियाँ राष्ट्रपति या प्रधानमन्त्री तहको भ्रमण यसै वर्ष हुन सक्छ ।

भ्रमण हुने/नहुने नेपालकै तयारीमा भर पर्छ’, बैठकमा सहभागी अर्का सरकारी अधिकारीले भने । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल-चीन सम्बन्धका राजनीतिक, आर्थिक, जनस्तरको सम्बन्धलगायत समग्र पक्षबारे बैठकमा छलफल भएको थियो ।  बैठकमा तातोपानी नाका पुनःसञ्चालनमा ल्याउन काम गरिरहेको चिनियाँ पक्षले जानकारी दिएको थियो ।

‘उच्चस्तरीय भ्रमण र भेटघाटलाई थप विस्तार गर्ने, आर्थिक सम्बन्धलाई अझ सुदृढ गर्ने, व्यापार, पर्यटन प्रवर्धन, लगानी, पूर्वाधार विकास, जनस्तरको सम्बन्ध विस्तारलगायत क्षेत्रमा सहयोग आदान प्रदान गर्नेबारे छलफल भयो’, परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ । याे खबर अन्नपूर्ण पोस्टमा छ ।