कपडा सिलाउँदै ‘एमबीबीएस टप’

काठमाण्डौ, ६ असार । परिवारको नाममा एक टुक्रो जमिनसमेत थिएन । दिनभर अर्काको कपडा सिलाएर कमाएको दुईचार रुपैयाँका भरमा भाडाको कोठामा चारजनाको परिवार पाल्नु बाबु गंगारामको दायित्व थियो ।

त्यही कामका लागि पनि दीर्घरोगी बाबुलाई साँझबिहान र विदाको समय सिलाइमा सघाएर बचेको समय विद्यालय जान्थे उनी। जति नै दुःख  परे पनि लेटाङ मोरङका सुजितकुमार दर्नालको पढाइको भोक घटेन । बरु बढ्यो। विपन्न परिवारमा जन्मिएका उनी त्यही भोकले डाक्टर बने । त्रिविअन्तर्गत एक हजारभन्दा बढी डाक्टर विद्यार्थीलाई उछिन्दै उनी ८०.८२ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट भए ।

नेपालमा सबैभन्दा महँगो विषय चिकित्सा शिक्षा पढ्ने र सफलता पाउने कुरा निम्नवर्गीय परिवारमा जन्मिएका उनको कल्पनाभन्दा बाहिरको कुरा थियो । ‘डाक्टर बन्ने त सोचेकैै थिइनँ, मेहेनतमात्रै गरेँ’ सुजितले भने, ‘समयले बाटो देखायो र डाक्टर भएँ ।’ तेह्रथुममा जन्मेका गंगाराम २०४५ सालमा लेटाङ झरेपछि दर्नाल परिवारको भविष्यको ढोका खुलेको हो ।

अचल सम्पत्ति नभए पनि गंगारामले हातमुख जोर्ने व्यवस्था गरेर छोराछोरीलाई विद्यालय पठाए । गाउँटोलमा बाबुसँगै लुगा सिलाउने विद्यार्थीको प्रस्तुति देखेर शिक्षक हौस्याउँथे । शिक्षकको अपेक्षाअनसार २०६५ को एसएलसीमा ७५ प्रतिशत अंक ल्याएर उत्तीर्ण भए सुजित ।

गंगारामले सरसापटी गरेर छोरालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदमा सामान्य चिकित्सा (एचए) प्रवेश परीक्षा दिन लगाए । सुजितले पहिलो नम्बरमै नाम निकाले । ‘त्यही नै अ‍ेरो डाक्टर हुने यात्रा बन्यो’, सुजितले भने, ‘त्यसअघिसम्म मलाई डाक्टर पढ्न के गर्नुपर्छ भन्ने त. थाहा थिएन । याे खबर नागरिक दैनिकमा छ ।